राष्ट्रिय सभामा १७ पदका लागि निर्वाचन, ४४ उम्मेदवार मैदानमा

राष्ट्रिय सभामा १७ पदका लागि निर्वाचन, ४४ उम्मेदवार मैदानमा

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। राष्ट्रिय सभाको रिक्त पद पूर्तिका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुँदैछ। फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि निर्वाचन हुन लागेको हो। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार आज हुने निर्वाचनका लागि कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। संवैधानिक व्यवस्थाअनुसार हरेक दुई वर्षमा एक तिहाइ ९१९ जना० सदस्यको पदावधि समाप्त हुन्छ।

५९ सदस्यीय राष्ट्रिय सभामा फागुन २० गते १९ पद रिक्त हुँदैछन्। तीमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने बाँकी १८ जना निर्वाचनमार्फत चयन हुनेछन्।

राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ छ। एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने यस निर्वाचनमा सबैभन्दा बढी कुल मतभार प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन्।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल भएको छ। तालमेलअनुसार नेपाली कांग्रेसले ९ सिट, नेकपा एमालेले ८ सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ सिटमा उम्मेदवारी दिएका छन्। नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ।

मधेस प्रदेशमा जनता समाजवादी पार्टीले दुई पदमा दर्ता गराएको उम्मेदवारी एकीकरणपछि निष्क्रिय बनेको छ भने त्यहाँ लोसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ। यस्तै नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशमा र राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार मतदान स्थल कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी तोकिएको छ।

Logo