कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

केन्द्रबिन्दु
36
Shares

दमौली। यहाँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो । नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिए।

हाल कभर्डहलमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । व्यास नगर व्याडमिन्टन क्लबले रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण गरेको हो । पछिल्लो समय व्याडमिन्टनतर्फ खेलाडीको आकर्षण बढ्दै गएकाले कभर्डहल निर्माण गरी यहाँ व्याडमिन्टनका खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए। उनका अनुसार कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार २३४ सहयोग गरेको छभने लागत नगद सहभागिता रु सात लाख रहेको छ । त्यस्तै रु एक लाख ७८ हजार ५२२ श्रमदान गरी कुल रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण भएको हो ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त कभर्डहलको जग्गा व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । कभर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले रु ३२ लाख ८४ हजार २९३, आव २०७८÷७९ मा रु ३१ लाख २५ हजार ९३१, आव २०८०÷८१ मा रु १४ लाख २५ हजार र चालु आवमा रु नौ लाख ५० हजार सहयोग गरेको थियो ।

Logo