काठमाडौँ, २८ फागुन (रासस) – प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिनुभएको छ ।
दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुग्नुभएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिनुभयो ।
उहाँले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताउनुभयो । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।
उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उहाँले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उहाँ मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि बताउनुभयो ।
विमान दुर्घटनास्थलमा प्रधानमन्त्री
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।
गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको हो ।































प्रतिक्रिया