‘राई इज किङ’ उर्फ राजेश पायल राइले लिस्बन तताए

‘राई इज किङ’ उर्फ राजेश पायल राइले लिस्बन तताए

केन्द्रबिन्दु
18
Shares

एन.पि.घायल,काठमाडौं । नेपाली सुगम संगीतका धरोहर, ‘राई इज किङ’ का उपनामले चिनिने चर्चित गायक राजेश पायल राईले आफ्नो जादुमयी स्वरले पोर्चुगलको राजधानी लिस्बनलाई संगीतमय उत्सवमा परिणत मात्र गरेनन् हजारौँको मन जित्न सफल भए । तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार को अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रमका लागि पोर्चुगल पुगेका राईको सशक्त ‘लाइभ’ प्रस्तुतिले कार्यक्रमस्थलमा उपस्थित हजारौँ दर्शक–श्रोतालाई मन्त्रमुग्ध बनाईदियो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको मुख्य आयोजनामा जनवरी २५ मा लिस्बनस्थित प्रतिष्ठित कार्यक्रम स्थल ‘रिपब्लिका दा म्युजिका’ मा सम्पन्न यस ऐतिहासिक कार्यक्रममा राजेश पायल राईको आगमनसँगै हल भरिभराउ मात्र भएन स्रोता दर्शकले टिकट समेत पाउन गाह्रो हुने स्थिति सिर्जना भयो । जव उनले माइक समातेर ‘संगसंगै बाच्न पाउँ संगसंगै मर्न पाउ जाउँ हिँड धेरै टाढा पिरतीको गाउँ’ के उठान गरेका थिए स्टेज जुरुक्क उठ्यो ।

उनका कालजयी तथा लोकप्रिय गीतहरू आफ्नो छैन आफ्नो मन,दिलको ढोका,तुँवालो, धर्तीमा बसेर,विर्सन खोज्छु, निष्ठूरी मायाले,बालुवाको महल, मान्छेहरु,आज रोए, आज भोली जस्ता दर्शकहरू भावुक हुँदै झुमे । धेरैले गीतसँगै स्वर मिलाएर मात्र गाएनन् संगीतमा आँफैलाई भेट्टाए । संगितप्रतिको गहिरो समर्पण र मञ्चमा देखिएको आत्मीय प्रस्तुतिले राईको लोकप्रियता देशको सीमाभन्दा पर पनि उत्तिकै बलियो रहेको प्रमाणित ग-यो ।

कार्यक्रमलाई थप उचाइ दिन चर्चित रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का लोकप्रिय प्रतियोगी तथा युवा गायक नवाङ लामा ले पनि पहिलो पटक पोर्चुगलको मञ्चमा उत्कृष्ट प्रस्तुति दिए । लामाको ऊर्जाशील गायन, आधुनिक शैली र दर्शकसँगको प्रत्यक्ष संवादले कार्यक्रमलाई थप जीवन्त बनाइदियो । यी दुई मुख्य कलाकारसँगै स्थानीय तथा अन्य कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई सांगीतिक र सांस्कृतिक रूपमा पूर्णता मात्र दिएन महाउत्सवनै बनाइदियो।

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष फुर्पा तामाङले राजेश पायल राईजस्ता राष्ट्रिय स्तरका कलाकारको उपस्थितिले पोर्चुगलमा रहेको नेपाली समुदायलाई गर्वको अनुभूति दिलाएको केन्द्रविन्दुलाई बताइन् । उनका अनुसार, यस कार्यक्रमले मनोरञ्जनसँगै प्रवासमा तामाङ समुदायको भाषा, भेषभूषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन मा उल्लेखनीय योगदान पु¥याएको छ ।

कार्यक्रममा सहभागी दर्शकहरूले राजेश पायल राईको ‘लाइभ’ प्रस्तुति अविस्मरणीय रहेको प्रतिक्रिया दिएका छन् । सोनाम ल्होछारको शुभकामना आदानप्रदान, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश बोकेको सो कार्यक्रमले पोर्चुगलबासी नेपालीहरूलाई एउटै परिवारझैँ नजिक ल्याइदियो।

समग्रमा, राजेश पायल राईको कोकिलकण्ठ माधुर्यताले सुसज्जित स्वरले ल्होछार विशेष सांगीतिक कार्यक्रम पोर्चुगलको नेपाली डायस्पोरामा लामो समयसम्म सम्झिइने ऐतिहासिक उत्सवका रूपमा दर्ज बन्न पुगेको अध्यक्ष तामाङले बताइन् ।

राइले युरोपका दर्जनौ साँगितिक कार्यक्रममा प्रस्तुती दिने कार्यक्रम तय भएको छ ।

Logo