चितवन। भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाएका छन्। भारतमा दूधको मूल्य नेपाली दूध सरह पुगेपछि नेपाली किसानले उचित मूल्य पाउन थालेका हुन्। यसअघि भारतीय दूध सस्तो हुँदा ठूलो परिमाणमा भारतबाट नेपालमा दूध भित्रिने गरेको थियो।
विगतका वर्षमा यही मौसममा भारतबाट अवैध रूपमा दूध आयात हुँदा स्वदेशी उत्पादन प्रभावित हुँदै आएको थियो। उत्पादन भएको दूध बिक्री हुन नसकेपछि किसान र सहकारी प्रशोधनमा जान बाध्य थिए। तर यस वर्ष भारतमा दूधको मूल्य बढेपछि नेपाली दूध सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ जान थालेको छ, जसका कारण स्वदेशी उत्पादनले सहज रूपमा बजार पाएको छ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार हाल भारतमा दूधको मूल्य नेपालभन्दा प्रतिलिटर ४६ पैसा मात्र बढी छ। ढुवानी खर्च जोड्दा भारतीय दूध महँगो पर्ने भएकाले यस वर्ष भारतबाट दूध आयात नभएको उनको भनाइ छ।
“अघिल्ला वर्षमा भारतबाट अवैध रूपमा दूध आउँथ्यो,” उनले भने, “यस वर्ष भने सीमा क्षेत्रबाट नेपाली दूध लुकिछिपी भारततर्फ गइरहेको छ।”
सीमा क्षेत्रबाट पट्नालगायत भारतीय बजारमा दूध गएको सूचना आएको बताउँदै कुँवरले समयमै भुक्तानी नपाउँदा किसानले पशुपालनमा रुचि घटाएकाले उत्पादनसमेत घटेको बताए। हाल दैनिक करिब ४५ लाख लिटर दूध उत्पादन हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा करिब एक लाख लिटरले कम हो।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले भारतबाट दूध नआएपछि स्वदेशी उत्पादनले बजार पाएको बताए। उनका अनुसार मङ्सिर, पुस र माघ महिनामा दूधको खपत कम हुने भएकाले उत्पादन व्यवस्थापन चुनौतीपूर्ण हुन्छ।
“जाडो मौसममा दही, आइसक्रिम जस्ता दुग्धजन्य पदार्थको खपत कम हुन्छ,” उनले भने, “भारततर्फबाट दूध नआउँदा यहाँको दूध सहजै खपत भइरहेको छ।”
विगतका वर्षमा दूध बढी भएपछि ‘मिल्क होलिडे’ गर्नुपरेको अनुभव सुनाउँदै उनले अहिले उत्पादित सबै दूध बजारमै खपत भइरहेको बताए।
दूध बिक्री नभएपछि प्रशोधनका लागि चितवन मिल्कमा अत्यधिक दूध जाने गरेको भए पनि यस वर्ष त्यस्तो अवस्था नरहेको चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। गत वर्ष दैनिक दुई लाख लिटर दूध आउने गरेकामा यस वर्ष करिब ७० हजार लिटर मात्र आएको उनले जानकारी दिए।
भदौदेखि जेठसम्म प्रशोधनका लागि दूध आउने गरेको चितवन मिल्कमा यस वर्ष भदौ र असोजमा मासिक करिब चार लाख लिटर, कात्तिकमा १० लाख, मङ्सिरमा १५ लाख र पुसमा २० लाख लिटर दूध आएको छ, जुन गत वर्षको तुलनामा निकै कम हो।
“गत वर्ष नौनी र दूध पाउडर राख्ने ठाउँ अभावका कारण उद्योग बन्द गर्नुपर्ने अवस्था आउँथ्यो,” उनले भने, “अहिले अवस्था सहज छ।”
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको चितवन मिल्क कुनै समय घाटामा गएर बन्द भएको थियो। हाल सहकारी र डेरीहरूले शुल्क तिरेर प्रशोधनका लागि दूध ल्याउने गरेका छन्। उद्योगको दैनिक प्रशोधन क्षमता एक लाख ५० हजार लिटर रहेको छ।





























प्रतिक्रिया