पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्छन्

पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्छन्

केन्द्रबिन्दु
24
Shares

खोटाङ। पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो समस्या पहिचान भएका २२ महिलामध्ये पहिलो चरणमा १८ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको शल्यक्रिया भएको हो ।

अस्पताल आवतजावत, उपचार, खानेबस्ने खर्च नगरपालिकाले उपलब्ध गराउने गरी पाठेघर खस्ने समस्या भएका महिलालाई निःशुल्क उपचार गराउन अस्पताल लगिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ महिलाको सफल शल्यक्रिया भएको छ, चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर पठाइएको छ । तीन जनालाई पुनः बोलाइएको छ,” उनले भनिन् ।

निःशुल्क उपचार गर्ने व्यवस्थासहित बिरामी महिला र उनीहरूका एक–एक जना कुरुवालाई नगरपालिकाले बनेपा पु¥याएको थियो । अस्पताल लगिएकामध्ये दुई जनामा रक्तचाप र एक जना महिलामा मधुमेहका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भएपछि पुनः अस्पतालले बोलाएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव विवेक पराजुलीले जानकारी दिए ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलामध्ये अधिकांश वृद्धावस्थाका छन् । ११ वडा रहेको यस नगरपालिकाले गत वर्ष ४१ जना महिलाको शल्यक्रिया गराएको थियो ।

लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिला पछिल्लो समय खुलेर उपचार गराउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरमा समस्या देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ ८ गते सोही अस्पताल लगेको छ । बाँकी रहेका १८ जनालाई केही दिनभित्र लगिने स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिएका छन् ।

करिब तीन वर्षअघि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला नआउने अवस्था थियो । तर अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहित उपचार गराइरहेका छन् । पाठेघर खसेको पहिलो र दोस्रो चरणसम्मका समस्या भएका महिलाको वडा–वडामै उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई बनेपास्थित शिर मेमोरियल अस्पताल लगेर उपचार गराउने गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले गत पुसमा प्रजनन रुग्णता शिविर सञ्चालन गरेका थिए ।

शिविरमा करिब एक हजार २०० भन्दा बढी महिलाले पाठेघर परीक्षण गराएका छन् । यस्तै, रावाबेँसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नुपर्ने २१ जना महिला भेटिएका छन् र उनीहरूलाई पनि चाँडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिएका छन् ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र जन्तेढुङ्गा गाउँपालिकाले शिर मेमोरियल अस्पताल लगेर पाठेघरको समस्या भएका महिलाको उपचार गराउँदै आएका छन् । पाठेघरसम्बन्धी बिरामी महिलासहित कुरुवाका लागि अस्पतालसम्म आवतजावत, खाना तथा बस्नका लागि स्थानीय तहले निःशुल्क व्यवस्थापन गर्दै आएका छन् ।

Skip This
Skip This
Logo