स्वर्णिमको नेतृत्वमा रास्वपाले फागुनको पहिलो साता चुनावी वाचापत्र सार्वजनिक गर्ने

स्वर्णिमको नेतृत्वमा रास्वपाले फागुनको पहिलो साता चुनावी वाचापत्र सार्वजनिक गर्ने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आफ्नो वाचापत्र तयार पार्ने क्रम तीव्र पारेको छ ।

उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित ‘वाचापत्र मस्यौदा कार्यदल’ ले विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी मस्यौदा अन्तिम चरणमा पु¥याइरहेको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार, भौगोलिक, व्यावसायिक तथा दलका आन्तरिक संयन्त्रबाट प्राप्त सुझावहरूलाई समेटेर वाचापत्र फागुनको पहिलो सप्ताहमा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

यो कार्यदलमा डा.नन्दन यादव, डा.अरनिको पाण्डेलगायतका विज्ञहरू संलग्न छन् । केही स्रोतहरूका अनुसार यो कार्यदल ७ सदस्यीय छ र यसले पार्टीका सबै तहबाट सुझाव संकलनलाई प्राथमिकता दिएको छ ।

स्वर्णिम वाग्ले जस्ता अर्थशास्त्री तथा पूर्वविश्व बैंकका विज्ञको नेतृत्वमा तयार हुने वाचापत्रले रास्वपाको ‘नयाँ राजनीति’ को मूल मर्मलाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ । पार्टीले यसलाई केवल चुनावी दस्तावेज मात्र नभई दीर्घकालीन सुधारको खाका बनाउने दिशामा जोड दिएको देखिन्छ ।

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएको छ । यो कदमले पार्टीको युवा तथा शहरी मतदातामुखी छविलाई थप मजबुत बनाउने प्रयास हो ।

फागुन पहिलो साता सार्वजनिक हुने यो दस्तावेजले रास्वपालाई चुनावी बहसको केन्द्रमा राख्ने निश्चित छ । पुराना दलहरूको ‘परम्परागत’ वाचापत्रसँग तुलना गर्दा यसले कति फरक र तिखो वैकल्पिक दृष्टिकोण दिन्छ त्यो भने हेर्न बाँकी नै छ । तर, यो निर्वाचनमा रास्वपाको प्रदर्शनले नेपालको राजनीतिक परिदृश्यमा नयाँ आयाम थप्ने सम्भावना प्रबल देखिन्छ ।

Logo