चुनावी अनुशासन कडा बनाउँदै कांग्रेस,कार्यकर्ता देखी नेतासम्मको कार्यक्षेत्र तोक्यो

चुनावी अनुशासन कडा बनाउँदै कांग्रेस,कार्यकर्ता देखी नेतासम्मको कार्यक्षेत्र तोक्यो

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक अनुशासन र परिचालनलाई कडाइ गर्ने नीति अघि सारेको छ । पार्टीले चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने स्पष्ट कार्यविधि लागू गर्ने निर्णय गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले तयार गरिरहेको निर्वाचन परिचालन निर्देशिकामा उक्त नीति समेटिएको छ । यसअनुसार कांग्रेसका विभिन्न तहका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारी क्षेत्रमै केन्द्रित भएर चुनावी गतिविधिमा खटिनेछन् ।

पार्टी नेतृत्वका अनुसार यस नीतिले चुनावी अभियानलाई व्यक्तिकेन्द्रित होइन, जिम्मेवारी–आधारित बनाउने उद्देश्य राखेको छ । यसबाट संगठनभित्र देखिँदै आएको दोहोरो भूमिकाको समस्या अन्त्य हुनुका साथै स्थानीय तहसम्म प्रभावकारी परिचालन हुने अपेक्षा गरिएको छ ।

निर्वाचन परिचालन निर्देशिकाबारे प्रदेशगत छलफललाई तीव्र बनाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसँगको छलफल माघ १३ मै सकिएको छ भने बुधबार गण्डकी प्रदेशसँग छलफल जारी छ ।

यी छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान तथा निवर्तमान पदाधिकारी, जिल्ला सम्पर्क समितिका सभापति, काठमाडौँमा रहेका कांग्रेससम्बद्ध व्यवसायी, पेशाकर्मी, शुभेच्छुक र युवाहरूको सक्रिय सहभागिता रहेको पार्टी सचिवालयले जनाएको छ ।

Logo