काठमाडौं -३ मा कति सुरक्षित छन् कुलमान घिसिङ ?

काठमाडौं -३ मा कति सुरक्षित छन् कुलमान घिसिङ ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर ३ यसपटक विशेष चासोको केन्द्र बनेको छ । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कुलमान घिसिङको प्रवेशसँगै यहाँको चुनावी सरगर्मी बढेकाे हाे ।

पूर्वमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा चर्चित घिसिङ सुशासन, कार्यसम्पादन क्षमता र इमानदार सार्वजनिक छविका कारण आम मतदातामाझ लोकप्रिय मानिन्छन् ।

दशकौँसम्म मुलुकले भोग्दै आएको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न उनले खेलेको भूमिकाले उनलाई ‘काम गरेर देखाउने नेता’ का रूपमा स्थापित गरेको छ । यही पृष्ठभूमिका कारण काठमाडौं क्षेत्र नम्बर ३ मा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

घिसिङसँग प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु पाण्डे, नेपाली कांग्रेसबाट रमेश अर्याल तथा नेकपा (एमाले) बाट रामेश्वर फुयाँल मैदानमा छन् ।

यद्यपि, घिसिङको प्रशासनिक अनुभव, नतिजामुखी नेतृत्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा अलग पहिचान दिएको छ ।

घिसिङ नेपाल सरकारका पूर्व मन्त्रीसमेत हुन् । उनले ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दै २०८२ पौष २३ गतेसम्म कार्य गरेका थिए । मन्त्री तथा प्रबन्ध निर्देशक दुवै भूमिकामा उनले देखाएको कार्यक्षमता नै उनको मुख्य राजनीतिक पूँजी बनेको छ ।

अन्य उम्मेदवारहरूमा रास्वपाबाट उम्मेदवार राजु पाण्डे काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रहरी प्रमुख हुन् भने नेपाली कांग्रेसका रमेश अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्व वडाध्यक्ष हुन् । एमालेका उम्मेदवार रामेश्वर फुयाँल पूर्वसंविधानसभा सदस्यसमेत हुन् ।

स्थानीय विकास, सुशासन, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाह सबै उम्मेदवारका साझा एजेन्डा भए पनि, ‘काम गरेर देखाएको अनुभव’ का आधारमा निर्णय गर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ । यही कारण काठमाडौं क्षेत्र नं. ३ मा कुलमानको उम्मेदवारीले चुनावी नतिजा कुन दिशातर्फ मोडिने हो भन्ने कौतूहल अझ बढाएको छ ।

यो क्षेत्र भौगोलिक रूपमा आधा काठमाडौंको खानेपानीको माग धान्ने क्षेत्र मानिन्छ । तर, यही क्षेत्रभित्रै खानेपानीको समस्या चर्को रूपमा विद्यमान छ । त्यही बाटो हुँदै खानेपानीका मुख्य सञ्जाल बिछ्याइए पनि गोकर्णेश्वर नगरपालिका–४, ६ र ९ नम्बर वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । ढल व्यवस्थापन, सडक सञ्जालको अवस्था र फोहोर व्यवस्थापनजस्ता समस्या पनि पुरानै छन् ।

त्यसैगरी गोकर्णेश्वर–१ सुन्दरीजल क्षेत्रमा वन्यजन्तुको समस्या गम्भीर बन्दै गएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले जंगली जनावरहरू बस्तीमा प्रवेश गरी बालीनाली नष्ट गर्ने समस्या लामो समयदेखि कायम छ ।

काठमाडौं -३ मा आज काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध क्षेत्र पर्छ । २०७९ को स्थानीय चुनावमा यो वडामा कांग्रेसका भुवन लामा ३८ सय ७६ मत ल्याएर विजयी हुँदा एमालेका वसन्त लामा २७ सय ३२ मत ल्याएर दोस्रोमा सीमित भएका थिए । यहाँ जनजाति मत बढी छ । त्यसैले दलहरूले जनजाति उम्मेदवारलाई नै प्राथमिकता दिने गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा गोकर्णेश्वर नगरपालिका सिंगै पर्छ । स्थानीय चुनाव २०७९ मा गोकर्णेश्वरमा कांग्रेसका दीपक रिसाल मेयरमा निर्वाचित भएका थिए । गोकर्णेश्वरमा प्रमुख हारे पनि उपप्रमुख र ५ वडाध्यक्षसहित एमालेले कुल २३ पद जितेको थियो । कांग्रेसले प्रमुख र ३ वडाध्यक्षसहित कुल २१ पद जितेको थियो । यहाँ एक स्वतन्त्र उम्मेदवार वडाध्यक्ष चुनिएका थिए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ भित्र कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडा पनि पर्छन् । स्थानीय चुनावमा कागेश्वर मनोहराको मेयरमा कांग्रेसका उपेन्द्र कार्की विजयी भएका थिए भने वडा नम्बर ४ मा एमाले र वडा नम्बर ६ मा नेकपा एसका प्रकाश फुयाँलले जिते पनि बाँकी ५, ७, ८ र ९ वडा कांग्रेसले नै जितेको थियो । २०७९ को स्थानीय र प्रदेश चुनावमा रास्वपाले भाग लिएको थिएन । अब काठमाडौं ३ का मतदाताले कसलाई रोज्लान् त्यो हेर्न बाँकी नै छ ।

Logo