उम्मेदवारीको निर्णयबारे महावीर पुन भन्छन्- भगवानले लेखिदिएका रहेछन् भन्नुपर्‍यो !

उम्मेदवारीको निर्णयबारे महावीर पुन भन्छन्- भगवानले लेखिदिएका रहेछन् भन्नुपर्‍यो !

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । पूर्वशिक्षामन्त्री एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले देश विकासका लागि सबै शक्तिहरू मिल्नुको विकल्प नरहेको बताएका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनले चुनावी अभियानका क्रममा मतदाताहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्।

आफू कुनै राजनीतिक दलमा आबद्ध नभए पनि एक्लो नरहेको स्पष्ट पार्दै पुनले भने, “मेरो आफ्नै पार्टी नभए पनि म स्वतन्त्र र सिंगो व्यक्ति मात्र होइन। मसित युवाहरूको टोली हुन्छ। युवाहरूसँग मिलेर नै देश विकासको योजना बनाउने मेरो लक्ष्य हो।”

पुनले आफ्नो मन्त्री पदको अनुभव सुनाउँदै कर्मचारीतन्त्र र राजनीतिक संयन्त्रभित्र काम गर्न निकै कठिन रहेको संकेत पनि गरे। “मान्छेहरूले एक जनाले मात्र के गर्ला र भन्छन्, तर हेरौँ न के गर्न सकिँदो रहेछ,” उनले थपे, “अहिले पनि म शिक्षामन्त्री भएर केही गर्न खोजेको थिएँ, तर केही सीप लागेन। त्यही कुरा सुनाउन म तपाईंहरूकहाँ आएको हुँ।”

उनले आफ्नो उम्मेदवारीलाई एक परीक्षणको रूपमा प्रस्तुत गर्दै भने, “सकिएन भने ‘कोसिस गरेको हो, सकिएन’ भन्नुपर्ला। एक–दुई वर्षमा सबै कुरा थाहा भइहाल्छ नि।”

साथै पुनले आफ्नो उम्मेदवारीकाे निर्णय ठट्यौली शैलीमा ‘दैवी संयोग’ जस्तो भएको बताए । उनले माघ ४ गतेसम्म पनि आफू चुनाव लड्छु भन्ने कुरामा अनभिज्ञ रहेको खुलाए। “भगवानले लेखिदिएका रहेछन् भन्नुपर्‍यो। कुनचाहिँ भगवानले हो चुनाव लड्नुपर्छ भनेर लेखिदिए, ४ गतेसम्म मलाई नै थाहा थिएन। म स्वतन्त्र उम्मेदवार हुन्छु भन्ने मलाई नै थाहा थिएन, तर भगवानलाई त थाहा रहेछ नि!”

उनले माथिल्लो तहमा सबैलाई मिलाउने प्रयास गर्ने र नमिलेसम्म देश नबन्ने ठोकुवा गरे। “नमिले के हुन्छ? देशलाई घाटा हुन्छ, मलाई त के हुन्छ र? घाटा त तपाईँ जनतालाई नै हुने हो,” उनले भने।

Logo