पूर्वप्रधानमन्त्री ओलीले फेरि भने- गोली चलाउने आदेशबारे सोच्न पनि सक्दिनँ

पूर्वप्रधानमन्त्री ओलीले फेरि भने- गोली चलाउने आदेशबारे सोच्न पनि सक्दिनँ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी घटनालाई लिएर आफ्नोविरुद्ध भइरहेको प्रचारलाई ‘निराधार र भ्रमपूर्ण’ रहेकाे बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री ओलीले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिने अधिकार नदिएको स्पष्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।’

उनका अनुसार सुरक्षा निकायले सरकारको आदेशमा नभई, कानुनले तोकेको जिम्मेवारी र ‘सपथ’ बमोजिम सुरक्षा प्रदान गर्ने गर्दछन्। “माइतीघरमा युवाहरूले गरेको प्रदर्शन शान्तिपूर्ण थियो, त्यहाँ न गोली चल्यो, न लाठी प्रहार भयो,” ओलीले भने, “तर करिब १२ बजेतिर घुसपैठियाहरूले बालबालिका र स्कुल ड्रेसमा रहेका विद्यार्थीहरूलाई ढाल बनाएर संसद भवनतर्फ लगे। संसद भवनजस्तो संवेदनशील क्षेत्रमा आक्रमण भएपछि सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नुपर्ने स्थिति सिर्जना गरियो।”

शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन योजनाबद्ध रूपमा घुसपैठ गराइएको उनकाे दाबी छ ।

पूर्वप्रधानमन्त्री ओलीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनलाई संसद भवनको निषेधित क्षेत्रतर्फ कसले र किन डोर्‍यायो भन्ने प्रश्नको उत्तर खोज्न नागरिकहरूलाई आग्रह गरेका छन् । उनले भदौ २४ गते आफ्नो राजीनामा पछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता राष्ट्रिय धरोहरहरू जलाइएको घटनाले अराजकता फैलाउने समूहको उद्देश्य स्पष्ट पारेको बताए ।

“म कुनै पनि मञ्चमा बसेर यसको जवाफ दिन तयार छु,” उनले भने, “सामाजिक सञ्जालमा फैलाइएको गलत प्रचारको पछि नलाग्न म सबैमा विनम्र अनुरोध गर्दछु।”

Skip This
Skip This
Logo