काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियामा बुधबार बिहान भएको आमा–छोराको हत्या योजनाबद्ध रूपमा गरिएको खुलेको छ । प्रहरीले मृतक रामेश्वर मण्डलकी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतोलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको घाँटी रेटेर हत्या गरिएको हो । प्रारम्भिक अनुसन्धानमा मनिताले आफ्ना प्रेमीसँग मिलेर पति र सासुलाई मार्ने योजना बनाएको खुलेको छ ।
धर्मेन्द्र महतो केही दिनअघि मात्र दुबईबाट नेपाल फर्किएका थिए । उनी फर्किएलगत्तै हत्या भएको भन्दै प्रहरीले यसलाई पूर्वयोजना अनुसार गरिएको अपराध मानेको छ ।
प्रहरीले यो हत्या ‘सुपारी’ दिएर गराइएको हुनसक्ने आशंका पनि गरेको छ । घटनामा धारिलो हतियार प्रयोग भएको र एकभन्दा बढी व्यक्ति संलग्न हुनसक्ने भन्दै थप अनुसन्धान गरिरहेको छ ।
बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरका अनुसार मोबाइल कल विवरण, सिसी क्यामरा फुटेज र बयानका आधारमा अनुसन्धान अगाडि बढाइएको छ । घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
एकै परिवारभित्र पत्नीले नै पति र सासुको हत्या गराएको आरोप लागेपछि परवानीपुर क्षेत्र स्तब्ध बनेको छ । स्थानीयवासीले दोषीलाई कडा सजायको माग गरेका छन् ।
यो हत्याकाण्ड घरेलु विवादभन्दा धेरै अगाडि बढेर परपुरुष संगको प्रेम, धोका र आफ्नै परिवार सकाउने षड्यन्त्रको डरलाग्दो रूप भएको स्थानियको भनाई छ ।





























प्रतिक्रिया