चितवनको गहुँमा नयाँ रोग देखियो, किसानहरु चिन्तित

चितवनको गहुँमा नयाँ रोग देखियो, किसानहरु चिन्तित

केन्द्रबिन्दु
21
Shares

चितवन। जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो ।

कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन् ।

अहिले रोग के हो भन्ने पुष्टि हुन नसकेको उनले बताए । उनले भने,“किसान समस्या लिएर कार्यालय आएका छन्, हामी फिल्डमा गएर अध्ययन गर्ने क्रममा छौँ, अध्ययनपछि मात्रै कुन रोग हो भन्ने पुष्टि गर्न सकिन्छ ।” राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरकी वैज्ञानीक सरस्वती न्यौपाने अहिलेनै कुन रोग हो भनेर भन्न सकिने अवस्था नरहेको बताउछन् ।

विषयगत रुपमा अध्ययनको काम नगरी यही रोग भनेर भन्न सक्ने अवस्था नरहेको उनले बताए। परीक्षणका लागि नमूना सङ्कलन गर्ने काम भइरहेको उनले बताए । जिल्लामा चार हजार ७११ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ ।

गत वर्ष सो क्षेत्रफलमा १५ हजार ५७७ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष गहुँ लगाउने ठाउँमा राज्माखेती पनि गरिएको पाइएकाले केही क्षेत्रफल घट्ने अनुमान गरिएको पौडेलले जानकारी दिए ।

Logo