सर्लाही–४ः गगन थापालाई अमरेश सिंहको कति डर ? [भिडियो]

सर्लाही–४ः गगन थापालाई अमरेश सिंहको कति डर ? [भिडियो]

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । निर्वाचनले नेपाली राजनीति तताइरहँदा नेपाली काँग्रेसका सभापति गगन थापा र काँग्रेसकै पुरानै नेता अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका पूर्वसांसद डा. अमरेशकुमार सिंह सर्लाही–४ मा आमनेसामने हुने भएपछि प्रतिस्पर्धा निकै रोचक हुने पक्कापक्की भएको छ । यसअघि सधैं काठमाडौं–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका गगन यसपालि भने मधेश झरेपछि उनी र काँग्रेसकै पुराना नेता अमरेशबिच कडा टक्कर हुने देखिएको हो ।

यो रोचक प्रतिस्पर्धामा एकातिर भर्खरै काँग्रेसमा ३ दशकदेखी रजगज गरिरहेका शेरबहादुर देउवाको ढर्रा तोडेर सभापति बनेका र अब प्रधानमन्त्रीको पद ताकेका गगन छन् भने अर्कोतिर भर्खरै रास्वपा छिरेर उम्मेदवारी दिएका दिग्गज अनि अनुभवी नेता डा. अमरेश छन् । कुनै बेलाका सहयात्रीहरु अहिले प्रतिस्पर्धी बनेका हुन् । यो क्षेत्रमा २६ स्वतन्त्रसहित कुल ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमा पनि गगन र अमरेशको यो प्रतिस्पर्धाले सर्लाही क्षेत्र नम्बर ४ को राजनीतिक तताएको हो ।

अघिल्ला निर्वाचनमा काँग्रेसले यो क्षेत्रमा कति मत ल्याएको थियो ? अमरेशले कति मत ल्याएका थिए र उनले गगनलाई हराउने सम्भावना अनि आधार के कति छ ? यो क्षेत्रमा कुन दलको पकड कति छ ? तथ्यांकका आधारमा विश्लेषण गरौं,

सलार्ही क्षेत्र नं ४ मा विष्णु गाउँपालिकाको ४ वटा, गोडैता नगरपालिकाको १२ वटा, बलरा नगरपालिकाको ११ वटा, रामनगर गाउँपालिकाको ७ वटा, धनकौल गाउँपालिकाको ७ वटा, बसबरिया गाउँपालिकाको ३ वटा र बरहथवा नगरपालिकाको ७ वटा गरी कुल ५१ वटा वडा पर्छन् । ती ५१ वटा वडामा १,२१,०१२ जना मतदाता रहेका छन्, जसमा ६३,१९८ जना पुरुष मतदाता छन् भने ४९,२९५ जना महिला मतदाता रहेका छन् ।

इतिहास पल्टाएर हेर्दा सर्लाही ४ मा अमरेशले २०७०, २०७४ र २०७९ को गरी ३ वटा निर्वाचन उनले नै जितेका छन् । यसरी लगातार ३ वटा निर्वाचन यसै क्षेत्रबाट अमरेशले जित्दै आएकाले सर्लाही ४ उनकै गढ मानिन्छ । विशेषगरी यो क्षेत्रमा काँग्रेसको साथ हुँदा र नहुँदा पनि लगातार उनकोे रजगज देखिँदै छ ।

पछिल्लो २०७९ को निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका उनी विजयी भएका थिए । उनले काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार यादवलाई १,७६४ मतले हराएका थिए । सिंहले २० हजार १७ मत पाएका थिए भने यादवले १८ हजार २५३ मत पाएका थिए। अब यसपालीको निर्वाचनमा भने कांग्रेसकै सभापति गगन उनकै गढमा उनैलाई टक्कर दिन पुगेका छन् ।

रास्वपाले पुख्र्यौली घर महोत्तरी भएका काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहलाई झापा ५ मा उतारेपछि रास्वपाले नै सर्लाही ४ मा पठाएको अमरेशकुमार सिंहलाई हराउन गगन लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं–४ छाडेर मधेशमा झरेका हुन् । रास्वपालाई काउन्टर दिन पनि उनले यसो गरेको भन्ने विश्लेषण कतिले गरेका छन् । काँग्रेसको दाबी अनुसार, स्थानीय तह निर्वाचनमा अमरेशको पक्षबाट उभिएका करिब दुई हजार कार्यकर्ता अहिले कांग्रेसमा फर्किएका छन्। यही कारण गगन थापाको जित सुनिश्चित हुने कांग्रेसको निष्कर्ष छ । यसअघिको निर्वाचनमा पनि सर्लाही ४ जान खोजेका गगन अन्तिम समयमा भने काठमाडौंमा अडिएका थिए । हाल भने सर्लाहीबाट जितेर उनी भावी प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसैले कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको सन्दर्भमा यो निर्वाचन जित्नु उनको राजनीतिक यात्राका लागि अनिवार्य जस्तै बनेको छ । र उनी त्यसैको लागि फिल्डमा खटिसकेका छन् ।

Logo