धादिङ
गजुरी गाउँपालिका ६ का भूकम्पपीडित केदारनाथ अधिकारीले घर बनाउन पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिइसकेका छन् । घर बनाउने भने सुरसार नै छैन । ‘घर बनाउन लगेको पैसा अरू काममा खर्च भयो, घर कसरी बनाउनू,’ अधिकारीले भने, ‘पैसा नभएर घरको जग हाल्न सकेको छैन ।’ ०७२ सालमा गएको भूकम्पले उनको घर बस्न नहुने गरी भत्केको थियो । टहरामा बस्दै आएका अधिकारी दोस्रो किस्ता गुम्ने हो कि भन्ने डरमा छन् । ‘सरकारले दोस्रो किस्ता बापतको रकम लिने म्याद चैत मसान्त सम्म तोकेको छ, आफूले भने घरको जग हाल्न समेत सकेको छैन’, उनले भने ।
भूकम्पपछि अधिकांश परिवार चर्केकै घर टालटुल गरी बसेका छन् । घर पूरै भत्केकाले पनि टहरो मर्मत गर्दैमा पहिलो किस्ता बापतको रकम सिद्ध्याएका छन् । घर बनाउन सुरु गरेकाले पनि जग हालेर छोडेका छन् । घर नबनाए सरकारले रकम फिर्ता माग्छ कि भन्ने डर भूकम्पपीडितमा छ । ‘घर बनाएन भने पैसा फिर्ता दिनु पर्छ रे’, अधिकारीले भने, ‘अब ऋण गरेर भए पनि घर बनाउन थाल्नु पर्ला ।’ पहिलो किस्ता लिने धेरै भए पनि घर निर्माण कार्यले तीव्रता नपाउँदा दोस्रो र तेस्रो किस्ता पाउने थोरै छन् ।
धादिङमा भूकम्पपछि पुनर्निर्माणका लागि ७३ हजार २ सय ७६ परिवार लाभग्राही सूचीमा परेका थिए । ती मध्ये ६८ हजार ८ सय ४० घरधुरीले अनुदान सम्झौता गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि सम्झौता गरेका मध्ये ६८ हजार १ सय ६४ जनाले पहिलो किस्ता बापतको रकम लगेका छन् । रकम लगेका केहीले घरको जग हालेर छाडेका छन् भने केहीले घर बनाउन समेत थालेका छैनन् । पहिलो किस्ता लिएर घर बनाउन थालेका मध्ये १८ हजार २ सय ६३ जनाले मात्र दोस्रो किस्ता बापतको रकम लगेका छन् । हाल ३१ हजार ६ सय ६६ घरको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया