काठमाडौं । कोरोना महामारीले स्वास्थ्य प्रणालीको कमजोरी, ढिलाइ र समन्वयहीनताको कठोर पाठ सिकाएको नेपाल अहिले फेरि अर्को सम्भावित संक्रमण निपाह भाइरसको जोखिमसँग जुध्नुपर्ने अवस्थामा पुगेको छ । भारतको पश्चिम बंगालमा निपाह भाइरस देखिएपछि नेपाल सतर्कतामा गएको भनिए पनि प्रश्न उठ्न थालेको छ—के यो सतर्कता कागजी मात्र त होइन?
निपाह भाइरस बङ्गुर र चमेरोबाट सर्ने सरुवा रोग भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । भारतमा देखिए पनि हाल नेपालमा देखिएको छैन। तर खुला सीमा, दैनिक हजारौंको आवतजावत र वनजंगलमा प्रशस्त पाइने चमेराको उपस्थितिले जोखिमलाई काल्पनिक नभएर सम्भावित बनाएको छ । फलफूलको प्रयोग गर्दा सावधानी अपनाउन समेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । यसले नेपाललाई ‘रोकथाममै लगानी गर्ने कि फेरि संकट आएपछि दौडधूप गर्ने’ भन्ने दोधारमा उभ्याएको छ ।
सतर्कता कि प्रतिक्रियात्मक तयारी?
स्वास्थ्य मन्त्रालयले नाका–नाकामा हेल्थ डेस्क राखिएको र सम्भावित संक्रमितका लागि अस्पताल तोकिएको जनाएको छ । तर विगतका महामारीहरूमा जस्तै यो तयारी संक्रमण देखिएपछि मात्र सक्रिय हुने संरचना त होइन भन्ने प्रश्न उठेको छ । सीमामा ज्वरो नाप्ने र नाम टिप्ने मात्र पर्याप्त तयारी हो कि होइन भन्ने बहस सुरु भएको छ ।
विशेषज्ञहरूका अनुसार निपाह भाइरसको सबैभन्दा खतरनाक पक्ष यसको उच्च मृत्युदर र खोप तथा निश्चित औषधिको अभाव हो। यस्तो अवस्थामा सरकारको प्राथमिकता उपचारभन्दा पनि पूर्वतयारी, सूचना प्रवाह र जोखिम सञ्चार हुनुपर्ने देखिन्छ ।
सूचना छ, तर चेतना कति?
निपाह भाइरसबारे सरकारी तहबाट आम नागरिकमा लक्षित व्यापक सूचना अभियान देखिएको छैन। फलफूल प्रयोग, वनजंगलमा हिँड्दा अपनाउनुपर्ने सावधानी, बिरामी जनावरसँगको सम्पर्कजस्ता विषय अझै आम जनचेतनामा पुगेका छैनन्।
कोरोना महामारीमा ‘सूचना ढिलो आयो, डर छिटो फैलियो’ भन्ने अनुभव भोगेको नेपालले अहिले वैज्ञानिक सूचना समयमै, सरल भाषामा र स्थानीय तहसम्म पु¥याउन सक्ला?
सार्वजनिक स्वास्थ्य कि भाग्य भरोसा?
निपाह हाल नियन्त्रणमै छ भन्ने भारतको दाबी र विश्व स्वास्थ्य संगठनको ‘निरन्तर निगरानी’ चेतावनीबीच नेपालले कुन मोडेल रोज्छ भन्ने प्रश्न महत्वपूर्ण छ । जोखिमलाई हल्का ठानेर बस्ने कि सम्भावनालाई गम्भीर मानेर प्रणाली बलियो बनाउने भन्ने कुरा मुख्य विषय बनेको छ ।































प्रतिक्रिया