तनहुँमा फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

तनहुँमा फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

केन्द्रबिन्दु
21
Shares

दमौली। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ। निर्वाचनका क्रममा बदर मत घटाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय तनहुँले कार्यक्रम सुरु गर्न लागेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै १० स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने सही तरिका र मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइनेछ।

कार्यक्रम प्रभावकारी भए मतदान सहज हुने र बदर मतको समस्या कम हुने विश्वास निर्वाचन कार्यालयले लिएको छ। विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक र कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा मतपत्रमा सही चिन्ह लगाउने तरिका, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयताबारे जानकारी दिइनेछ। जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता छन्। तीमध्ये एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला मतदाता रहेका छन्।

दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम देवघाट गाउँपालिकामा छन्। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नं १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ मा एक लाख १८ हजार २७९ मतदाता छन्।

क्षेत्र नं १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन्। क्षेत्र नं २ मा शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछन्। यसपटक ऋषिङ गाउँपालिका–४ र ६ मा एक–एक मतदान केन्द्र थप गरिएको छ। जिल्लामा १४४ मतदानस्थल र ३०० मतदान केन्द्र छन्।

निर्वाचन प्रहरी तालिम

जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि तालिम सञ्चालन गर्ने भएको छ। तालिम जिल्लाका पाँच स्थानमा सञ्चालन गरिनेछ।

निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्य सूचीमा उत्तीर्ण भएका उम्मेदवारको नियुक्तिसँगै तालिम सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तालिम व्यास नगरपालिका–५ पाटन खेलमैदान, आँबुखैरेनी क्याम्पस, बेलचौतारा खेलमैदान, भानुको गोठेटार खेलमैदान र बन्दीपुरमा सञ्चालन हुनेछ।

कार्यालयले एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ। आवेदन कम परेपछि दुई पटक म्याद थप गरिएको थियो। पाँचै स्थानमध्ये पायक पर्ने ठाउँमा उपस्थित भई तालिम लिन सकिने व्यवस्था गरिएको छ।

१९६ जनालाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक सूचीमा रहेका इच्छुकलाई स्याङ्जा पठाउने तयारी गरिएको छ। निर्वाचनमा निर्वाचन प्रहरीसँगै करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo