भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछः डा कल्याण सापकोटा

भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछः डा कल्याण सापकोटा

केन्द्रबिन्दु
264
Shares

नारायणगढ । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ । डा सापकोटाले भने, “भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।”

उनले नवजातदेखि १२ महिनासम्मको बच्चामा दैनिक ४०० युनिट र वयस्कमा दैनिक १००० युनिट भिटामिन डी आवश्यकपर्ने बताए । अस्पतालमा भिटामिन डीको कमीका कारण विभिन्न लक्षण लिएर धेरै बिरामी आउने गरेको उल्लेख गर्दै उनले भने, “भिटामिन डी पाउने मुख्य स्रोत खानपान र घाम हो । खानपानबाट विशेषगरी मासु, अण्डा तथा दुग्धजन्य पदार्थबाट प्राप्त हुन्छ । अन्य खानेकुराबाट पर्याप्त मात्रा पाउन सकिँदैन । जस्तै नूनमा आयोडिन मिलाइन्छ, त्यसैगरी फोर्टिफाइड खाना, तेल वा घ्यूमा भिटामिन मिसाएर सेवन गर्न सकिन्छ । नेपालमा खानामा फोर्टिफाइड सामग्री मिसाउने प्रचलन धेरै छैन । साथै, घामको प्रकाशले सबैलाई पर्याप्त भिटामिन डी नपुग्ने अवस्था पनि देखा पर्छ ।” उनले पुनः भने “भिटामिन डीको लागि विशेषगरी बिहान १०–११ बजेदेखि दिउँसो ३ बजेसम्मको घाम महत्वपूर्ण हुन्छ । उक्त समयमा १०–३० मिनेटसम्म छालामा घाम लाग्दा भिटामिन डी शरीरमा उत्पादन हुन्छ । ” उनले घाम ताप्दा सनस्क्रिन नलगाउने र छाला ढाक्ने कपडा नलगाउने सुझाव दिए। उनले जाडो महिनामा घामको प्रकाश पर्याप्त नपुग्ने हुँदा यसको पूर्ति खानाबाट वा सप्लिमेन्टबाट गर्नुपर्ने बताए।

उनका अनुसार भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला र रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।

पर्याप्त भिटामिन डीले क्यान्सर र सङ्क्रमणको जोखिम पनि कम गर्छ । यसको कमीले शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, थकान, बच्चामा उचाइ कम हुनु, खुट्टा बाङ्गो हुनु जस्ता लक्षण देखापर्ने डा सापकोटाले बताए ।

Skip This
Skip This
Logo