प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

केन्द्रबिन्दु
15
Shares

भक्तपुर। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ। प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयको खाली भवनमा सञ्चालनमा ल्याइएको हो।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले सोमबार रगत परीक्षण गराएसँगै प्रयोगशालाको निरीक्षण गरे। रक्त परीक्षणपछि उनले सिपाडोलको ‘भाइरल प्लानिङ’ क्षेत्रभित्र पाँच रोपनी जग्गा प्रयोगशालाका लागि उपलब्ध गराइएको बताए। जग्गा अभावका कारण काभ्रेमा सञ्चालनमा आउन नसकेको प्रयोगशालालाई भक्तपुरमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको जनाउँदै अब सोही जग्गामा ११ करोड रुपैयाँको लागतमा अत्याधुनिक प्रयोगशालाको भवन निर्माण सुरु गरिने जानकारी दिए।

जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँ उपत्यकालाई विशेष रूपमा केन्द्रित गर्ने भए पनि बागमती प्रदेशका १३ वटै जिल्लामा सेवा प्रवाह गर्ने बताइएको छ। सरकारी अस्पताल, निजी अस्पताल, निजी क्लिनिक तथा ल्याबमा सङ्कलन गरिएको रगत परीक्षण सहज र सस्तो हुने मन्त्रालयको दाबी छ।

सेवाग्राहीले आफैँ प्रयोगशालामा आएर रगत परीक्षण गराउन सक्ने व्यवस्था गरिएको छ। अत्याधुनिक उपकरणसहितको प्रयोगशालाबाट विदेशमा पठाउँदै आएका विभिन्न परीक्षण सेवा यहीँ उपलब्ध गराइने जनाइएको छ।

प्रयोगशालामा परीक्षण गराएका बिरामीले रिपोर्ट लिन पुनः आउनु नपर्ने र क्युआर कोडमार्फत मोबाइलमै रिपोर्ट प्राप्त हुने व्यवस्था गरिएको छ।

विसं २०८२ माघ ८ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–८ साविक नङ्खेल गाविस–१ मा नेपाल सरकारका नाममा दर्ता रहेको १० रोपनी एक आना जग्गामध्ये पाँच रोपनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिइएको जानकारी दिइएको छ।

प्रयोगशालाको सुविधा सम्पन्न आधुनिक भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। भवन विभागले एक वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने र त्यस अवधिसम्म गणेश माध्यमिक विद्यालयको पुरानो भवनमै प्रयोगशाला सञ्चालन गरिने जनाइएको छ।

प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीका अनुसार काभ्रेको धुलिखेलमा सञ्चालन गर्ने तयारीका क्रममा करिब ३० करोड रुपैयाँ लागतका अत्याधुनिक उपकरण ल्याइए पनि सञ्चालनमा आउन नसक्दा उपकरण प्रयोगविहीन अवस्थामा रहेका थिए।

धुलिखेलमा जग्गा प्राप्त हुन नसक्दा अन्योल सिर्जना भएको बताउँदै उनले पाँच रोपनी जग्गा उपलब्ध भएपछि प्रयोगशालाको स्थायी भवन निर्माणको बाटो खुलेको बताए।

प्रयोगशालाले बागमती प्रदेशका १३ वटै जिल्लाभित्र सञ्चालनमा रहेका करिब १ हजार २०० वटा ल्याबको निगरानी गर्नेछ। क्यान्सर जाँच, लिपिड प्रोफाइल, मिर्गौला तथा कलेजो, प्याङ्क्रियाजलगायत ९६ प्रकारका नमुना परीक्षण गर्न सकिने जनाइएको छ।

यसका साथै पिसिआरमार्फत इन्फ्लुएञ्जा सर्भिलेन्स, एचआइभी भाइरस परीक्षण, क्षयरोग जाँच, एचपिभी भाइरस जाँच, कोभिड परीक्षण, एएमआर सर्भिलेन्सलगायत परीक्षण, ल्याब सञ्चालन अनुमति, नवीकरण, निगरानी तथा अनुगमनसम्बन्धी कामसमेत हुने प्रयोगशालाले जनाएको छ।

Skip This
Skip This
Logo