काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गतेको निर्वाचनलाई नेपाली इतिहासको ‘माइलस्टोन’ संज्ञा दिँदै पुराना राजनीतिक दलहरूलाई खुला चुनौती दिएका छन्।
केही समयको स्वास्थ्य उपचार र विश्रामपछि सार्वजनिक जीवनमा फर्किएको घोषणा गर्दै लामिछानेले अबको परिवर्तन “घटना मात्र नभई इतिहास” हुने दाबी गरेका छन्।
उनले पुराना शक्तिहरूलाई अन्तिम शक्ति लगाएर रास्वपाको लहर रोक्न चुनौतीसमेत दिएका छन्।
उनले भनेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन।’
लामिछानेले आफू केवल सिंहदरवार पुग्न नभई सिंहदरवारको संरचना र कार्यशैली बदल्न चुनावी मैदानमा होमिएको स्पष्ट पारेका छन् । उनले यसलाई ‘निलो क्रान्ति’ को संज्ञा दिँदै भनेका छन्, ‘म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।’
आलोचकहरूले रास्वपालाई ‘पपुलिष्ट’ र विचारविहीन भनेको प्रति आक्रोश पोख्दै उनले आफ्ना दस्तावेजहरू पढ्न सुझाएका छन् । उनले भनेका छन्, ‘सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाईंहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईंहरूलाई नै मुबारक । भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् ।’





























प्रतिक्रिया