धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै

धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै

केन्द्रबिन्दु
12
Shares

धरान। खेल प्रवद्र्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा यही माघ २३ गते बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान बक्सिङ संस्थाको आयोजनामा धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङहिम हलमा बक्सिङ ‘फाइट नाइटको दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितामा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ ।

धरानमा बक्सिङ खेलको विकास, विस्तार र प्रवद्र्धन गर्दै युवालाई खेलमार्फत अनुशासित, सक्रिय र सामाजिक रूपमा जिम्मेवार बनाउने उद्देश्यसहित २०८१ सालमा धरान बक्सिङ संस्था स्थापना गरिएको संस्थाका सचिव महेश आलेमगरले बताए।

प्रतियोगितामा खेलाडीहरूले प्रोफेसनल र एमेचर गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रोफेसनल प्रतिस्पर्धामा कोशी प्रदेशअन्तर्गत धरान, धनकुटा, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरी क्लबका खेलाडी सहभागी हुनेछन् । बागमती प्रदेशबाट काठमाडौँ र मकवानपुरका खेलाडीको सहभागिता रहनेछन् भने एमेचर विधातर्फ धरान, धनकुटा, उदयपुर र झापाका खेलाडी सहभागी हुने सचिव मगरले जानकारी दिए।

प्रतियोगिताको प्रोफेसनल तर्फको विजेताले नगद रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु २५ हजार र प्रमाणपत्र पाउनेछन् । एमेचर विधातर्फ विजेताले नगद रु १० हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् साथै एक जना खेलाडी बराबर रु पाँच लाखको इन्स्योरेन्ससमेत गरिने मगरले बताए ।

Logo