क्रिकेटको महाकुम्भ आजदेखि, राजनीतिक छायाँबीच रोमाञ्चक सुरुवातको अपेक्षा, कसले जित्ला त १०औं संस्करणको ट्रफी ?

क्रिकेटको महाकुम्भ आजदेखि, राजनीतिक छायाँबीच रोमाञ्चक सुरुवातको अपेक्षा, कसले जित्ला त १०औं संस्करणको ट्रफी ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । क्रिकेटको छोटो र रोमाञ्चक फम्र्याट टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा सुरु हुँदैछ । यो प्रतियोगिता ठिक १ महिनासम्म अर्थात फागुन २४ गतेसम्म चल्नेछ, जसमा २० राष्ट्रका टोलीहरूले कुल ५५ खेलहरू खेल्नेछन् ।

भारत र श्रीलंका संयुक्त आयोजक रहेको यो विश्वकपमा क्रिकेटको उत्साह र गति झल्काउने गरी तयारी गरिएको छ, तर दक्षिण एसियाली राजनीतिक खिचातानीले यस प्रतियोगितालाई केही छायाँ भने पक्कै दिएको छ । बंगलादेशले सुरक्षा कारण देखाउँदै भारत भ्रमण अस्वीकार गरेपछि आईसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको छ, भने पाकिस्तानले भारतसँग खेल्न अस्वीकार गर्दै सबै खेलहरू श्रीलंकामा खेल्ने अडान लिएको छ । यसले भारत–पाकिस्तानबीचको बहुप्रतिक्षित खेललाई नै दुविधामा पारेको छ ।

यो विश्वकप टी–२० फम्र्याटमा दुई राष्ट्रले आयोजना गर्ने तेस्रो संस्करण हो । यसअघि सन् २०२१ मा यूएई र ओमान तथा २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गरेका थिए । हालसम्म जम्मा ६ राष्ट्रले मात्र टी–२० विश्वकपको उपाधि जितेका छन्, जसमध्ये भारत, इंग्ल्यान्ड र वेस्ट इन्डिजले दुई–दुई पटक उक्त उपाधि जितेका छन् । भारतले सन् २००७ र २०२४ मा, वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा तथा इंग्ल्यान्डले सन् २०१० र २०२२ मा उक्त उपाधि जितेका थिए । त्यस्तै पाकिस्तानले सन् २००९ मा, श्रीलंकाले सन् २०१४ मा र अस्ट्रेलियाले सन् २०२१ मा गरी एक–एक पटक टी–२० विश्वकप जितेका छन् । अझ रोचक तथ्य के छ भने, कुनै पनि टोलीले लगातार दुई पटक यो उपाधि जितेका छैनन् ।

आज विश्वकपको पहिलो दिन तीन खेलहरू निर्धारित छन्, जसमा टेस्ट खेल्ने राष्ट्रहरू एसोसिएट सदस्यहरूसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयअनुसार बिहान ११ः१५ बजे श्रीलंकाको कोलम्बोस्थित सिंहली स्पोट्र्स क्लब (एसएससी) मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच उद्घाटन खेल सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेल दिउँसो ३ः१५ बजे भारतको कोलकातास्थित इडेन गार्डेन्समा स्कटल्यान्ड र वेस्ट इन्डिजबीच हुनेछ । वेस्ट इन्डिज दुई पटकको विजेता हो, भने स्कटल्यान्ड बंगलादेशको बहिष्कारपछि अन्तिम समयमा प्रवेश गरेको भाग्यमानी टोली हो । यो खेल नेपाल रहेको समूह ‘सी’ को हो ।

दिनको अन्तिम तथा बहुप्रतिक्षित खेल बेलुकी ७ः१५ बजे मुम्बईको वानखेडे स्टेडियममा घरेलु टोली भारत र अमेरिकाबीच हुनेछ । साविक विजेता भारतले आफ्नो यात्रा अमेरिकासँग सुरु गर्दैछ ।

भारत–अमेरिका खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोह हुनेछ । नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुने यो समारोहमा संगीत, नृत्य र विशेष प्रस्तुतिहरू रहनेछन् । समारोहको सुरुवात ऋषभ रिकिराम शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ । त्यसपछि एक जेटप्याक कलाकारले विश्वकप ट्रफीलाई उड्दै मैदानमा ल्याउनेछन् । आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्माले ट्रफीको स्वागत गर्नेछन् ।

आज उद्दघाटन समारोहको मुख्य आकर्षण चर्चित गायक बादशाह र कलाकार नोरा फतेहीको दमदार गायन तथा नृत्य रहनेछ । धेरै कलाकारहरूले संयुक्त प्रस्तुति दिनेछन् र कार्यक्रमको अन्त्यमा भव्य आतिशबाजी पनि गरिनेछ । यो समारोह टी–२० क्रिकेटको गति र उत्साहलाई प्रतिबिम्बित गर्ने गरी डिजाइन गरिएको छ ।

आजदेखि सुरु हुने क्रिकेटको यो महाकुम्भमा नेपालले तेस्रो पटक सहभागिता जनाउँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा खेलिसकेको छ । समूह ‘सी’ मा रहेको नेपाली टोलीसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन् । इटालीले पहिलो पटक विश्वकप खेल्दैछ । नेपालका चारै खेलहरू मुम्बईको वानखेडे स्टेडियममा हुनेछन् । समूहमा शीर्ष दुई स्थान हासिल गरेमा नेपाल सुपर–८ मा पुग्न सक्छ । नेपालका लागि यो समूह कडा छ, तर युवा प्रतिभा र अनुभवको मिश्रणले राम्रो प्रदर्शनको आशा गरिएको पनि छ ।

आजदेखि सुरु हुने क्रिकेटको यो महाकुम्भको समूह चरणका खेलहरू फेब्रुअरी २० सम्म चल्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर–८ मा प्रवेश गर्नेछन्, जसको सुरुवात फेब्रुअरी २२ देखि हुनेछ । सुपर–८ का शीर्ष चार टोलीहरू सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनलको खेल मार्च ४ र दोस्रो खेल मार्च ५ मा हुनेछ । फाइनल खेल मार्च ८ का दिन अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ, तर यदि पाकिस्तान फाइनलमा पुगेमा उक्त खेल कोलम्बोमा सारिनेछ । भारत र श्रीलंकामा संयुक्त आयोजना हुने यो प्रतियोगिताका खेलहरू भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाका दुई शहरका तीन मैदानमा हुनेछन् ।

अर्कोतर्फ यो विश्वकप सुरु हुनुअघि नै राजनीतिक विवादले चर्चा पाएको छ । बंगलादेशले भारतमा सुरक्षा समस्या देखाउँदै बहिष्कार गरेपछि स्कटल्यान्डलाई मौका दिइयो । पाकिस्तानले भारतसँग खेल्न अस्वीकार गर्दै आईसीसीमा भारतको ‘दादागिरी’ भएको आरोप लगाएको छ । भारतीय कप्तान सूर्यकुमार यादवले भने श्रीलंका भ्रमण गर्ने र खेल्ने प्रतिबद्धता जनाएका छन् । यो विवादले भारत–पाकिस्तान खेललाई अनिश्चित बनाएको छ । यदि पाकिस्तानले खेल्न अस्वीकार गरेमा उनीहरूलाई दुई अंक गुमाउनु पर्नेछ र नेट रन रेटमा पनि असर पर्नेछ ।

Logo