पर्सा
अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगला अगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेश प्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।
घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचाप समेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि वीर अस्पताल पठाइएको चिकित्सकको भनार्इ रहेको छ ।
चौरसिया माथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनाका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । चौरसिया धागोको व्यापार गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि भएको गोली प्रहारको घटनाले वीरगन्जवासीलाई त्रसित बनाएको छ ।
रासस































प्रतिक्रिया