भक्तपुर
आज देशै भरि होलीको रौनक छ । तर भक्तपुर जिल्लामा भने अलग र मौलिक किसिमले होली मनाईंदै छ । दत्तात्रय मन्दिर अघि रहेको भीमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात् लग र रातो कपडाले बनाइएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ । भक्तपुरमा दत्तात्रयस्थित भीमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात लिंगलाई फागुन शुक्लपूर्णिमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर सात दिन सम्म मनाइने होली पर्व शुरू हुने गर्दछ । लगलाई स्थानीयले टोलटोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखेपछि विधिवत रूपमा होली शुरु भएको मानिन्छ । यसलाई टोलटोलमा रहेको पसलैपिच्छे घुमाएर पूजा गरी पुनः पाटीमा ल्याएर झुण्ड्याएपछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटी चढाएर पूजा गर्ने गर्दछन् ।
होली पर्व शुरू भएपछि फागुन नवमीको दिनमा भीमसेनको लिंगलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे लिंग दर्शनका लागि लगिन्छ । लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयबासी राम बहादुर गायजुले बताए । ‘भगवानको लिंगलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसल–पसलमा लिंग लगिएपछि दक्षिणा राखेर ढोग्छन्,’ –उनले भने ।
बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भीमसेनको पाटीमा ७ दिन सम्म झुण्ड्याउने गरिन्छ । झुण्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रूपमा लिइने गरेको संस्कृतिकर्मी बताउँछन् । करिब दुई हात लामो र करिब ३० इन्च मोटाइको काठबाट बनेको लिंगलाई भक्तपुरका बासिन्दाले भीमसेनको लिंग र कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिएको भक्तपुरका संस्कृतकर्मी ओम धौभडेल बताउँछन्। धौभडेलले भने– ‘नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भन्ने गरिन्छ । यसको आशय लिंग घुमाएपछि फागु पर्व शुरू हुन्छ भन्ने हो ।
चिर स्वायगू अथार्त लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने परम्परा रहेको छ । विशेष गरी होली भरि भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् । ‘भीमसेन देया लज खङगलो वानला ल्यासे बिस्युवाने म्वायक सो झ्यला’ अर्थात ‘भीमसेनको लिंगले मन लोभियो की, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की’ जस्ता गीत गाउने गरेको गुठीयार बताउँछन् । फागुन शुक्ल पूर्णिमाका दिन भक्तपुरका वासिन्दाले दिनभर रंगको होली खेलेपछि साँझ भक्तपुर तलेजुबाट निकालिएको भगवान कृष्णको खटलाई नगर परिक्रमा गराउँदै दत्तात्रय अगाडिको भीमसेनको मन्दिरबाट ल्याएपछि मन्दिरमा झुण्ड्याएको लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा ल्याएर राखेपछि भक्तपुरमा मनाइने होली पर्व सम्पन्न हुने परम्परा रहेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया