बैतडी। पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ। स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभर सञ्चालन हुनेछ।
जिल्लाभरिका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी तथा गत वर्षको अभियानमा छुटेका किशोरीलाई खोप दिइने छ।
गत वर्ष अभियानका रूपमा किशोरीलाई एचपिभी खोप दिइएको थियो भने यो वर्ष नियमित खोप कार्यक्रममा समावेश गरिएको हो। बैतडीमा यस वर्ष कक्षा ६ मा अध्ययनरत दुई हजार ३८६, गत वर्षको अभियानमा छुटेका ६१ र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका ६ किशोरी गरी कुल दुई हजार ४५३ जनालाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।
गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी १० हजार ३१० जनालाई एचपिभी खोप दिइएको थियो। यस वर्ष किशोरीलाई खोप दिन स्थानीय तहहरूले आ–आफ्नो पालिकामा तयारी गरिरहेका छन् भने प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकिएको छ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप पूर्ण रूपमा सुरक्षित भएकाले निर्धक्क भएर लगाउन सकिने जिल्ला अस्पतालका निमित्त प्रमुख डा पविन उपाध्यायले बताए। नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण बर्सेनि महिलाको ज्यान जाने भएकाले रोग लाग्नै नदिन खोप लगाउनु आवश्यक रहेको स्वास्थ्य कार्यालयको भनाइ छ।





























प्रतिक्रिया