काठमाडौं
प्रतिनिधिसभामा सांसद र प्रधानमन्त्री बीच दोहोरो प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदामा सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ । "/>

अब प्रधानमन्त्रीसँग संसदमै प्रत्यक्ष संवाद गर्न पाइने

अब प्रधानमन्त्रीसँग संसदमै प्रत्यक्ष संवाद गर्न पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रतिनिधिसभामा सांसद र प्रधानमन्त्री बीच दोहोरो प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदामा सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ । संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार महिनामा २ पटक प्रधानमन्त्रीसँग सांसदले सीधै प्रश्न गर्न सकिने र प्रधानमन्त्रीले जवाफ दिनु पर्नेछ । ‘महिनामा २ पटक गर्ने भनिएको छ तर त्यो दिन भने सभामुखले तोक्नु हुनेछ’, गौतमले भन्नु भयो – ‘अन्तर्राष्ट्रिय अभ्यास निकै प्रभावकारी भएकाले पनि यो व्यवस्था राखिएको हो ।’ एक पटकमा ५ जनाले प्रश्न गर्ने व्यवस्था छ । गौतमले बेलायतबाट यो प्रक्रिया शुरू भएको जनाउनु भयो । तयार पारेको मस्यौदामा मन्त्रीका लागि भने लिखित रूपमा प्रश्न दिइनेछ र मन्त्रीले जवाफ दिनेछन् । दोस्रो संविधानसभाको नियमावलीमा पनि प्रश्नोत्तर विधि अपनाइने भनेर व्यवस्थापिका सांसदले पारित गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।

‘यो नयाँ अभ्यासले संसद्प्रति सरकार थप जिम्मेवार र उत्तरदायी छ भन्ने बुझ्न सजिलो हुन्छ ।’ –संघीय संसद्का प्रवक्ता गौतमले भन्नु भयो । सचिवलायका सचिव वीरेन्द्र बहादुर कार्कीको संयोजकत्वमा बनेको ११ सदस्यीय समितिले तयार पारेको प्रतिनिधिसभा बैठक सञ्चालन कार्यविधि मंगलबार महासचिव मनोहर प्रसाद भट्टराईलाई बुझाएको प्रशासन महाशाखाका सह–सचिव सुरज कुमार दुराले जनाउनु भयो ।

कार्यविधिमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने देखि लिएर, शुरूका केही दिन बैठक सञ्चालन गर्ने कार्यविधिसँगै सभामुख र उपसभामुखको निर्वाचन सम्म समावेश गरिएको छ । संविधानको धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था छ । सरकारले आफूसँग बहुमत छ भन्ने देखाउनु परेमा यो धाराको प्रयोग हुन्छ । फागुन ३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको ४१ औं प्रधानमन्त्रीका रूपमा शपथ लिनु भएको थियो ।

संसदमा शपथ नलिई प्रधानमन्त्री भएको भन्दै ओलीको आलोचना समेत भएको छ । संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनु अघि संघीय कानुन बमोजिम शपथ लिनु पर्ने भनिएको छ । कार्यविधिलाई संसद्को पहिलो बैठकले अनुमोदन गरेपछि यही प्रक्रिया अनुसार बैठक सञ्चालन हुनेछ । संसद सचिवालयले संघीय संसद्को पहिलो बैठक आगामी सोमबार बोलाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo