काठमाडाैं । धनुषा निर्वाचन क्षेत्र नं. ३ को चुनावी परिदृश्य सधैं नै नेपाली राजनीतिको केन्द्रविन्दुमा रहने गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम समेत समेटिएको यो क्षेत्र ‘हाइ-प्रोफाइल’ उम्मेदवारहरूको भिडन्त र फेरबदल भइरहने राजनीतिक समीकरणका कारण निकै रोचक मानिन्छ ।
यो क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो विरासत मानिन्छ, जहाँ महेन्द्र नारायण निधिदेखि विमलेन्द्र निधिसम्मको प्रभाव रहेको छ। यद्यपि, पछिल्ला दुई निर्वाचनमा यो विरासत धर्मराएको देखिन्छ ।
२०७९ मा नेकपा (एमाले)की जुली कुमारी महतो ३३,३८८ मत ल्याएर निर्वाचित भइन् । उनले लोसपाका अनिल झालाई पराजित गरेकी थिइन् । कांग्रेसले त्यसबेला यो क्षेत्र सत्ता गठबन्धनका लागि छाडेको थियो।
२०७४ निर्वाचनमा भने तत्कालीन राजपाका राजेन्द्र महतो ३०,७५० मतका साथ विजयी भएका थिए । उनले कांग्रेसका हेभिवेट नेता विमलेन्द्र निधिलाई (२७,८४७ मत) पराजित गर्दै मधेश आन्दोलनको लहरमा जित निकालेको थियो। यसपटक धनुषा ३ मा त्रिपक्षीय मात्र नभई बहुपक्षीय र नयाँ शक्तिको उदयका कारण प्रतिस्पर्धा निकै जटिल बनेको छ।
विमलेन्द्र निधि कांग्रेसबाट एकल नाम सिफारिस भएर उम्मेदवारी दर्ता गराएका छन् । विगतको हारको बदला लिने र आफ्नो पुरानो किल्ला फर्काउने उनकाे मुख्य उद्देश्य रहेको छ ।
जुली संगठन र आफ्नो अघिल्लो कार्यकालको कामको आधारमा पुनः जित्ने दाउमा छिन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा निधिले १ हजार ४९२ मतअन्तरले चुनाव जितेका थिए । निधि १५ हजार ३१ मत पाउँदा जुली १३ हजार ५३९ मत पाएकी थिइन् ।
निधिको गृहनगर पर्ने यस क्षेत्रमा २०५६ यता उनी २०७९ बाहेक सबै चुनावमा प्रत्यक्ष उम्मेदवार बने । तर २०६४ पहिलो र २०७० को दोस्रो संविधानसभा चुनाव उनी जित्न सफल भए ।
तर २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोसँग २ हजार ९०३ मतान्तरले पराजित भए । महतो ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए । पराजितको भयले निधि २०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सांसद पद सुरक्षित पारे ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नम्बर ९ र जनकपुर उपमहानगरपालिकाका १–८, १०, १२, १५, १६, २० र २३, २४ र २५ वडाहरू रहेको धनुषा–३ मा १ लाख २५ हजार ९२७ मतदाता छन्।
२०७९ काे निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ सबभन्दा धेरै मत पाएको थियो। कांग्रेसले २५ हजार १९५ मत प्राप्त गर्दा एमालेले १७ हजार ८७४, जनमत पार्टीले ८ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २१९ समानुपातिकतर्फ १ हजार २११ मत पाएका थिए।
याे चुनावी गणितले पार्टीगत रूपमा कांग्रेसलाई र व्यक्तिगत रूपमा एमालेकी जुली महतोलाई बलियो देखाएको यो क्षेत्रमा यसपटक राजनीतिक समीकरण बदलिएकाे छ । जुली र निधीसँगै यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट राजिवकुमार झा, श्रम संस्कृति पार्टीबाट सदाम हुसेन लगायतले उम्मेदवार दर्ता गराएका छन् ।
रास्वपाका प्रवक्ता समेत रहेका झाको उम्मेदवारी र जनकपुरधाममै भएको रास्वपाको परिवर्तनको पहिलो उद्घोष सभामा वरिष्ठ नेता बालेन शाहको सम्बोधनले पूराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । झाले ‘नयाँ विकल्प’ र ‘परिवर्तन’को नारासहित युवा मतदातालाई आकर्षित गरिरहेका छन्।
झा २०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका थिए। विगतमा स्थानीय र प्रदेश सभा निर्वाचनमा सहभागी नभएको रास्वपाको ग्रासरुटमा संगठनिक संरचना छैन तर मधेसमा रास्वपाप्रति एक किसिमको लहर नै देखिन्छ। अर्काे जेलमुक्त भएका पूर्वसांसद सञ्जय साहको समर्थन कसलाई रहन्छ भन्ने चर्चाले पनि यहाँकाे चुनावी जित–हारको गणित बदल्न सक्छ। । स्राेतहरुका अनुसार उनले मनिष झालाई समर्थन गर्न सक्ने संकेत दिएकाे खबरले रास्वपा उत्साहित देखिन्छ ।





























प्रतिक्रिया