मुस्ताङ
करिब १३ हजार जनसंख्या मात्र भएको मुस्ताङमा घरेलु महिला तथा बाल हिंसाका घटनामा वृद्धि भएको महिला तथा बालबालिका कार्यालय मुस्ताङले जनाएको छ । गैरजिल्लाबाट विभिन्न काम गर्ने प्रयोजनमा मुस्ताङ आएका समुदाय र दलित समुदायको बस्ती बीच नै यसप्रकारका हिंसा हुने कार्यालयको भनार्इ छ । गैरजिल्लाका समुदाय बढेपछि मिश्रित समाजका कारण अदृश्य रूपमा महिला तथा बालबालिका माथि हिंसा हुने गरेको छ । हिंसाको संख्या बढेपनि पीडित भने कानुनी पहुँच सम्म पुग्न नसकेको कार्यालयले जनाएको छ ।
गत वर्ष कार्यालयमा कानुनी उपचार खोज्न पाँच वटा महिला हिंसाका मुद्दा दर्ता भए । त्यसमा दुईवटा बालयौन दुराचार तथा अपराधका घटना पनि थपिए । २०७३ साउन महिनामा थासाङ गाउँपालिका–२ कोबाङमा महिला बलात्कृतको घटना घट्यो । रुकुम घर भई काम गर्ने सिलसिलामा कोवाङ बसेकी ती महिला माथि करणी भएको थियो । आर्थिक रूपमा विपन्नता रहेकी उनी माथि करणी भएको पीडितले कार्यालयमा जनाएकी थिइन् । प्रायगरी अन्य जिल्लाबाट काम खोज्दै मुस्ताङ आएकाहरू नै सो खालका घटनामा संलग्न भेटिएको र यस्ता प्रकृतिका घटना दोहोरिने गरेको कार्यालयको अनुसन्धानले पुष्टि गरेको छ ।
यसअघि लामो समय देखि गुपचुप राखिएको छुसाङको एक विद्यालयमा अध्यनरत १३ वर्षीया बालिका माथि भएको यौन हिंसा पनि अन्ततः सार्वजनिक भएको थियो । ती पीडित बालिका छुसाङस्थित आफ्नै आफन्तकहाँ बस्दै आएकी थिइन् । उनी पनि जिल्ला बाहिरकै हुन् । केही समयपछि पीडित बालिकाको स्वास्थ्य प्रतिकूल बनेपछि उपचारका लागि अस्पताल भर्ना गर्दा उनी करणीमा परेको पुष्टि भएको थियो । सोही ठाउँका विद्यालयका शिक्षकबाट पीडित बालिका माथि पटक–पटक यौन अपराध भएको पीडित बालिकाले महिला तथा बालबालिका कार्यालयलाई बयानमा बताएकी थिइन् । प्रहरी अनुसन्धानको म्याद नाघेका कारण पीडितमाथि कारबाही प्रक्रिया अघि बढ्न सकेन । अहिले बालिकाको संरक्षण जिल्ला बाहिरकै एक संस्थाले जिम्मा लिएको कार्यालयले जनाएको छ ।
मुस्ताङमा भएका अधिकांश घरेलु हिंसाको सिकार निजकै श्रीमानबाट हुने गरेको पाइएको छ । यस्ता घटना तल्लो मुस्ताङमा बढी हुने गरेको महिला तथा बालबालिका कार्यालय जनाएको छ । गत वर्ष मात्रै तल्लो मुस्ताङमा पाँचवटा महिला हिंसाका घटना कार्यालयमा दर्ता भए । जिल्लामा बहुविवाह, बालबालिका बीचमा समलिंगी यौन अपराधको घटना भएको छ । ससाना उमेर समूहका बालबालिका बीच नै यौन अपराध हुने गरेको कार्यालयले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया