राजनीतिसँगै व्यावसायिक उखुखेतीमा लागेका जनप्रतिनिधि

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा लागेका जनप्रतिनिधि

केन्द्रबिन्दु
33
Shares

भजनी। टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सक्रिय छन्। राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गर्दै उनले बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रमा खेती गर्दै आएका छन्। साउदले धानखेती ३०–३५ बिघामा गर्दै आउनुभएको छ भने हाल उखुखेतीमा प्राथमिकता दिइरहेका छन् ।

गत वर्ष उनले झन्डै ४५ बिघा उखुखेती गरेका थिए । यस वर्ष थप आठ बिघा उखुखेती विस्तार गर्ने तयारी छ। बर्दियाको राजापुर नगरपालिकामा स्थापित राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु खरिद गर्न थालेपछि साउदले उखुमा प्राथमिकता दिएका छन् । उद्योगले किसानबाट उखु प्रतिक्विन्टल रु ६२०–६९० मा खरिद गर्दै आएको छ भने सरकारले प्रतिक्विन्टल रु ७० अनुदान दिँदै आएको छ । यस वर्ष साउदले सात बिघा आलुखेती पनि गरेका छन्।

वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला पनि उखुखेतीमा लाग्दै आएका छन्। दुई कार्यकाल वडाध्यक्ष रहेका ठकुल्लाले पूर्वमा गुण मिल सञ्चालन गर्दै आएका थिए भने हाल उखुखेतीमा विस्तार गर्दै आएका छन्। सात बिघा उखु यस वर्ष थप विस्तार गर्ने योजना रहेको छ ।

टीकापुर नगरपालिका–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि कृषि र व्यापारमा सक्रिय छन्। बर्सेनि ९–१० बिघा खेती गर्ने न्यौपानेले दुई बिघाबाट उखुखेती सुरु गरेका थिए र यस वर्ष एक बिघा थप गर्ने योजना बनाएका छन्।

उद्योगका प्रशासनशाखाका प्रमुख इन्द्र ढकालका अनुसार राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले वार्षिक ३०–३५ लाख क्विन्टल उखु आवश्यक पर्छ। अहिलेसम्म पहुँचमा सात सय क्विन्टल मात्रै छ। रु दुई अर्ब लागतमा निर्माण भएको उद्योगले वार्षिक ३५,५०० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले टीकापुर नगरपालिकालगायत क्षेत्रमा किसानसँग मिलेर उखुखेती विस्तारमा काम गरिरहेको छ।

ढकालले कामदार अभाव र यातायातको पहुँच समस्या रहेको पनि उल्लेख गरे।

Logo