काठमाडौं
नेपाली कांग्रेसले निर्वाचनबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संसदीय दलको निर्वाचन समिति गठन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले चीनकाजी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यमा नविन्द्रराज जोशी र भिष्मराज आङदेम्बे रहेका छन् ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंहले दाबी प्रस्तुत गर्दै आएका छन् । संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि कांग्रेसले निर्वाचन गर्ने निर्णयमा पुगेको हो ।
सँगै बैठकले सुझाव सहित पार्टीको विधान अनुमोदन गरेको छ । त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको घोर भत्सना गरेको नेता विश्वकर्माले जानकारी दिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि सिफारिस गरेका तीन सदस्यलाई मनोनयन नगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले सिफारिस गरेका नाम मनोनयन गरेपछि कांग्रेसले यो कदम असंवैधानिक भएको भन्दै विरोध गर्दै आएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया