चितवनका कुखुरामा देखियो इकोलाईको र साल्मोनेला रोगको सङ्क्रमण, सर्तक रहन विज्ञको सुझाव

चितवनका कुखुरामा देखियो इकोलाईको र साल्मोनेला रोगको सङ्क्रमण, सर्तक रहन विज्ञको सुझाव

केन्द्रबिन्दु
12
Shares

चितवन। चितवनमा कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो ।

कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या देखिएको छ । मरेका कुखुराको कलेजोको नमूना परीक्षण गर्दा इकोलाई रोगको पहिचान भएको जनाइएको छ । दूषित पानीको प्रयोगका कारण यो रोग बढी देखिने गरेको बताइएको छ ।

यससँगै पाँच प्रतिशत कुखुरामा साल्मोनेला रोगको सङ्क्रमण देखिएको छ । यो रोग दूषित सामग्री, दाना र पानीको लसपसबाट सर्न सक्ने जनाइएको छ ।

व्यावसायिक रूपमा कुखुरापालन गर्ने किसानले खानपान तथा सरसफाइमा ध्यान नदिँदा यस्ता रोगको सङ्क्रमण देखिएको हुन सक्ने कार्यालयको भनाइ छ । कार्यालयले गरेको परीक्षणका क्रममा एभिएन इन्फ्लुन्जा, रानीखेत, गम्बारो, इन्फेक्सियस ब्रोङ्काइटिस र चिकन एनिमिया जस्ता रोगको सङ्क्रमण पनि कुखुरामा देखिएको छ ।

कूल ९४ वटा कुखुराको परीक्षणमा १४ वटामा एभिएन इन्फ्लुन्जा देखिएको छ । ३५ वटा कुखुरा परीक्षण गर्दा छ वटामा रानीखेत र ५३ वटा कुखुरा परीक्षण गर्दा २६ वटामा गम्बारो रोगको सङ्क्रमण भेटिएको छ । १८ वटा कुखुरामा इन्फेक्सियस ब्रोङ्काइटिस परीक्षण गर्दा एउटामा र ९२ वटा कुखुरामा चिकन एनिमिया परीक्षण गर्दा ३० वटामा सङ्क्रमण देखिएको हो । चिकन एनिमिया इलाइजा प्रविधिबाट परीक्षण गरिन्छ ।

रानीखेत र गम्बारो भाइरसका कारण लाग्ने रोग हुन् । दुवै रोग जैविक सुरक्षा नअपनाउँदा फैलिने भएकाले कृषकले जैविक सुरक्षा विधि अपनाउनुपर्ने उल्लेख गरिएको छ ।

कार्यालयले कुखुराको परीक्षण पीसीआर विधिबाट सुरु गरेको छ । कुखुराको ¥यालबाट एभिएन इन्फ्लुन्जा परीक्षण गरिने जनाइएको छ । यस विधिबाट १४ वटा कुखुराको परीक्षण गरिएको छ ।

यस परीक्षणले बर्डफ्लु जस्ता रोग पहिचान गर्न सहयोग पुग्ने बताइएको छ । सर्तक रहन स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । हालसम्म जिल्लामा कुखुरामा बर्डफ्लु नदेखिएको जानकारी दिइएको छ ।

Logo