काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत आज कोलम्बोमा जारी समूह ‘बी’ को महत्वपूर्ण खेलमा अष्ट्रेलियाले आयरल्याण्डसामु जितका लागि १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको हो ।
अष्ट्रेलियाका लागि मध्यक्रमका ब्याटर मार्कस स्टोइनिसले सर्वाधिक ४५ रनको योगदान दिए । उनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, जोस इङ्लिसले मात्र १७ बलमा ६ चौका र १ छक्काको मद्दतले विष्फोटक ३७ रन जोडेपछि अष्ट्रेलियाले बलियो स्कोरको आधार तय गरेको थियो । ओपनर म्याट रेनशॉले ३३ बलमा ३७ रन बनाउँदै पारीलाई स्थिरता दिएका थिए ।
कप्तान ट्राभिस हेड ६ रनमा रनआउट भए पनि तल्लो क्रममा कुपर कोनोली र जेभियर बार्टलेटले अविजित रहँदै समान १०-१० रन जोडेर टोलीको स्कोर १८० सम्म पुर्याए ।
आयरल्याण्डका लागि मार्क एडेरले सर्वाधिक २ विकेट लिए, यद्यपि उनी केही महँगो सावित भए । उनले ३.४ ओभरमा ४२ रन खर्चिए । त्यस्तै, म्याथ्यू हम्फ्रेस, जर्ज डकरेल र ह्यारी टेक्टरले समान १–१ विकेट लिए । ग्यारेथ डेलानीले २ ओभरमा मात्र १२ रन दिएर कसिलो बलिङ गरे ।





























प्रतिक्रिया