काठमाडौँ। आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ।
दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन्। पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो। समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।
नेपालले यसअघि वानखेडेमा खेलिसकेको अनुभव रहेको छ। इटाली भने कोलकाताबाट मुम्बई आइपुगेको हो।
टी–२० फम्र्याटमा नेपाल र इटालीबीच पहिलोपटक भेट हुँदैछ। यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। पछिल्लो भेट सन् २०१३ मा भएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन्। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्। डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ।
इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ। नियमित कप्तान वेन म्याडसन चोटका कारण उपलब्ध छैनन्। जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन्।
यस खेलमा एकैपटक तीन जोडी दाजुभाइ मैदान उत्रने सम्भावना रहेको छ। इटालीका मानेन्टी र मुस्का दाजुभाइ तथा नेपालका आरिफ र आसिफ शेखले विश्वकपमा सँगै खेल्ने दुर्लभ संयोग बन्न सक्नेछ।
नेपाल विश्वकपमा १२ वर्षदेखि जितविहीन छ। सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि नेपालले विश्वकपमा जित दर्ता गर्न सकेको छैन। आजको खेल नेपालका लागि त्यो क्रम तोड्ने अवसरका रूपमा रहेको छ।































प्रतिक्रिया