काठमाडौं। मोटरसाइकलमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित आठौं संस्करणको ‘नेपाल राइडर्स मिट’ आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको चापखर्कमा आयोजना हुने भएको छ। कार्यक्रम हिमालयन मोटरसाइकल एक्सपेरियन्सले आयोजना गर्न लागेको हो।
आयोजकका संयोजक अर्जुन थापाका अनुसार यस वर्ष नेपालसहित भारत, भुटान र म्यानमारबाट गरी ५५० भन्दा बढी राइडर सहभागी हुने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मोटरसाइकल राइडिङले रोड ट्रिप, साहसिक पर्यटन तथा सीमापार पर्यटन विस्तारमा टेवा पु¥याउने बताए। उनका अनुसार यस्तो कार्यक्रमले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने अवसर प्रदान गर्छ।
आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेल तथा द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेले नेपाल राइडर्स मिटलाई राइडिङ समुदायको वार्षिक पर्वका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूले यसलाई पर्यटन क्षेत्रको महत्वपूर्ण उत्पादनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सन् २०१३ मा बर्दियाबाट सुरु भएको यो कार्यक्रम विस्तार हुँदै अहिले ५०० भन्दा बढी राइडर सहभागी हुने अन्तर्राष्ट्रिय प्रकृतिको मिटमा रूपान्तरण भइसकेको छ। आयोजकका अनुसार यसले गन्तव्यलाई नजिकबाट अनुभव गर्ने अवसर दिनुका साथै यात्राका कथा र अनुभव विश्वभर फैलाउने माध्यमका रूपमा काम गर्छ।
कार्यक्रममा स्थानीय उत्पादन, परिकार तथा सांस्कृतिक प्रस्तुतिको प्रवद्र्धनमा पनि विशेष ध्यान दिइने जनाइएको छ। आयोजकको विश्वास छ कि यस पहलले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत गर्नेछ।





























प्रतिक्रिया