काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा नेपालले इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरको छ । मुम्बईको वानखेडे स्टेडियममा नेपालले दिएको १२४ रनको विजयी लक्ष्य इटालीले १२.४ ओभरमा विना कुनै विकेटको क्षतिमा पूरा गरेको हो ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा निरीह देखिएको नेपालले इटालीलाई कुनै चुनौती दिन सकेन। इटालीका लागि ओपनरद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले विष्फोटक ब्याटिङ गरे। जस्टिन मोस्काले ४७ बलमा ६९ रन बनाए भने एन्थोनी मोस्काले २९ बलमा ४८ रनको योगदान दिए।
नेपाली बलरहरू विकेटका लागि छटपटिए पनि सफल हुन सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२३ रन बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ रनको योगदान दिए।
आसिफ शेखले २० रन जोडे पनि अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न संघर्ष गरे। इटालीका स्पिनरहरूको कसिलो बलिङका अगाडि नेपाली ब्याटरहरू खुलेर खेल्न सकेनन्।
इटालीका लागि बेन मानेन्टीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट लिए। त्यस्तै क्रिशन कालुगामागेले १८ रन दिएर ३ विकेट झारे।
यसअघि पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपालका लागि यो दोस्रो हार हो। यो हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ। नेपालले अब आफ्नो अर्को खेल आगामी आइतबार वेस्ट इन्डिजसँग खेल्नेछ।































प्रतिक्रिया