काठमाडौँ। आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ। युनेस्कोले पाँचै महादेशमा डिजिटल प्रसारणमार्फत शैक्षिक सामग्री श्रोतासमक्ष प्रस्तुत गर्ने जनाएको छ।
युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, निर्णयकर्तासम्म सूचना पहुँच सुनिश्चित गर्नु, रेडियोको उपयोग प्रोत्साहित गर्नु तथा विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नु यस दिवसको उद्देश्य हो।
मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियो स्थापित छ। लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चका रूपमा रहेको छ। विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो रहेको तथ्यांकले देखाएको छ।
व्यापक श्रोतासम्म पुग्ने क्षमताका कारण रेडियोले समाजका विभिन्न वर्ग र समुदायलाई जोड्ने काम गरेको छ। यसले सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा भूमिका निर्वाह गरेको छ।
रेडियो स्टेशनहरूले विभिन्न समुदायलाई सेवा प्रदान गर्दै विविध कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा युनेस्कोले जोड दिएको छ।
कम लागतमा सञ्चालन गर्न सकिने भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न प्रभावकारी माध्यम मानिन्छ। यसले शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ। आपतकालीन सूचना प्रवाह तथा विपद् व्यवस्थापनमा समेत रेडियोको भूमिका महत्वपूर्ण रहेको छ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेलका अनुसार समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवद्र्धन गर्न रेडियो प्रभावकारी माध्यम हो। श्रोताको आवश्यकता अनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौतीहरूको समाधानका लागि आवश्यक दृष्टिकोण र आवाज सुनिश्चित गर्न सहयोग पुग्ने उनले बताएका छन्।
यस अवसरमा जारी सन्देशमा युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितका लागि उपयोगी हुनेगरी गर्नुपर्नेमा जोड दिएका छन्। रेडियोले विश्वसनीय सूचना प्रवाह, समुदायलाई जोड्ने र सार्वजनिक संवाद प्रवद्र्धन गर्ने भूमिकालाई अझ सुदृढ गर्नुपर्ने उल्लेख गरिएको छ।
विश्व रेडियो दिवसका अवसरमा विभिन्न रेडियो स्टेशन तथा प्रसारकहरूले विशेष कार्यक्रम, अन्तरक्रिया, प्रतियोगिता, कथा सङ्ग्रह तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाइएको छ।
त्यसैगरी, केही अफ्रिकी राष्ट्रमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र प्रदर्शन गरिने तथा रेडियोको भविष्य र एआईको प्रभावबारे छलफल गरिने कार्यक्रम तय गरिएको छ।





























प्रतिक्रिया