काठमाडाैं । नेपालमा बढ्दो ‘ब्रेन ड्रेन’ को समस्यालाई चिर्न र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वदेशमै इन्जिनियरिङ र सूचना प्रविधि क्षेत्रको सम्भावनाबारे जानकारी दिन ललितपुरको केएमसी कलेजमा ‘हिमालय आउटरिच प्रोग्राम’ सम्पन्न भएको छ।
हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित यस कार्यक्रममा विद्यार्थीहरूले नै आफ्ना जुनियर साथीहरूलाई व्यावहारिक शिक्षा र प्रोजेक्टहरूबारे जानकारी गराएका थिए। विगतमा शिक्षक वा कलेज प्रशासनले मात्र जानकारी दिने परम्परा रहेकोमा यसपटक हिमालयन आउटरिच प्रोग्राम मार्फत विद्यार्थीले नै विद्यार्थीलाई बुझाउने प्रयास गरिएको छ।

कार्यक्रममा बोल्दै कलेजका भाइस प्रिन्सिपल एवं इन्जिनियर अशोक जी.एम. ले भने, “हामीले विद्यार्थीहरूलाई इन्जिनियरिङका विभिन्न विधाबारे सही रूपमा सुचित गर्न सकेका छैनौँ कि भन्ने महसुस गरी यो कार्यक्रम सुरु गरेका हौँ। यसमा विद्यार्थीहरूले आफैँले बनाएका प्रोजेक्ट र सिकेका सिपहरु प्रदर्शन गरेका छन्।”

कार्यक्रममा विद्यार्थीहरूले इन्जिनियरिङ, आर्किटेक्चर र आईटी संकायमा आफूले तयार पारेका विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका थिए। इन्जिनियरिङ र सूचना प्रविधि वास्तवमा के हो र यसमा कस्ता अवसरहरू छन् भन्नेबारे कक्षा ११ र १२ का विद्यार्थीहरूलाई जानकारी गराइएकाे थियाे । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विदेशिनुको साटो नेपालकै शैक्षिक संस्थाहरूमा आफ्नो करियर खोज्न प्रेरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो।

हिमालय कलेज अफ इन्जिनियरिङले सन् २०५७ देखि नै नेपालमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ र यस्ता ‘आउटरिच’ कार्यक्रमहरूले विद्यार्थी र उद्योगबीचको दूरी कम गर्ने विश्वास लिइएको छ।



































प्रतिक्रिया