जानकी। नेपालगञ्ज उपमहानगरपालिका–१८ तेजनगरका वीरबहादुर हमाल गँड्यौला मल उत्पादनमार्फत आम्दानी गरिरहेका छन्। विगत १२ वर्षदेखि ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै भर्मिकम्पोष्ट मल उत्पादन गर्दै आएका छन्।
हमालका अनुसार गँड्यौला मल उत्पादनमा थोरै लगानीमै उत्पादन गर्न सकिन्छ। गँड्यौला मलले माटोको उर्वराशक्ति वृद्धि गर्न र बाली उत्पादनमा सहयोग पुग्ने भएकाले यसको माग बढ्दै गएको छ। जैविक मल प्रयोग गर्ने कृषकको संख्या विस्तार हुँदै गएको बताइएको छ।
गँड्यौला मल उत्पादनका लागि गाईको गोबर, पराल, झारपात तथा अन्य जैविक पदार्थ प्रयोग गरिन्छ। विशेष प्रजातिको ‘आइनिया फेटेटरी’ गँड्यौला प्रयोग गरी मल तयार गरिन्छ। एक पटक गँड्यौला खरिद गरेपछि त्यसबाट निरन्तर उत्पादन गर्न सकिने भएकाले लागत कम हुने बताइएको छ।
सुरुवाती चरणमा बजार अभाव, आर्थिक कठिनाइ र जानकारीको कमीका कारण उत्पादन र बिक्रीमा समस्या भएको थियो। पछिल्लो समय कृषकमा जैविक मलप्रति चासो बढेसँगै उत्पादनको माग पनि बढेको छ।
हाल चार कठ्ठा जग्गा भाडामा लिएर ६० वटा वेडमार्फत मल उत्पादन भइरहेको छ। एक पटकमा १८ देखि २० ट्राली गाईको गोबर प्रयोग गरिन्छ। प्रति ट्राली करिब १२ क्विन्टलसम्म मल उत्पादन हुने र एउटै गोबरबाट चार पटकसम्म मल उत्पादन गर्न सकिने बताइएको छ।
उत्पादित मल हिमाली जिल्लामा ढुवानी हुने गरेको छ। स्याउ र तरकारी खेतीमा यसको प्रयोग हुने गरेको छ। तीन महिनामा करिब १६० क्विन्टल मल उत्पादन हुने र चार महिनामा ६४० क्विन्टलसम्म उत्पादन सम्भव हुने जनाइएको छ। हाल बजारमा प्रति क्विन्टल करिब रु दुई हजार ५०० मूल्य रहेको छ। वार्षिक रूपमा करिब रु १५ लाखदेखि रु १६ लाख बराबरको मल बिक्री हुने र कुल कारोबार रु २० लाखदेखि रु २५ लाखसम्म पुग्ने गरेको छ।
गँड्यौला मल उत्पादनमार्फत मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्न सकिने बताइएको छ। स्थानीय स्रोत–साधनको प्रयोग र नियमित उत्पादनमार्फत कृषिलाई आम्दानीको माध्यम बनाउन सकिने देखिएको छ।





























प्रतिक्रिया