काभ्रे
प्रदेश तहको स्थायी राजधानी कहाँ रहने निश्चित नहुँदै काभ्रे जिल्लामा भने पुर्वाधारको खोजी गरिएको छ । कुल ४१ करोड खर्च गरिँदा आईटी पार्क नै प्रदेश ३ को राजधानीका लागि उपयुक्त हुन्छ –भवन डिभिजन कार्यालय काभ्रेका इन्जिनियर अशोक अधिकारीले भने –‘सरकारले मागे अनुसारको प्रतिवेदन हामीले बुझाई सकेका छौं ।’ प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौड्यालले प्रदेशको स्थायी राजधानी नीति, विधि र संविधान अनुसार हुने बताईरहँदा राजधानीको आकाँक्षा राख्ने जिल्ला काभ्रेले त्यसको तयारी शुरु गरेको हो । आईटी पार्क क्षेत्रमा प्रदेश राजधानी राख्दा जम्मा कायम भएको १ सय ९२ रोपनी जग्गामा थप संरचना समेत बनाउन सकिने तथा प्रदेश सभाको लागि थप आवश्यक जग्गा समेत लिनको लागि पर्याप्त सार्वजनिक जग्गाहरु वरिपरी रहेको प्रतिवेदन तयार भएको छ ।
साथै तत्कालको लागि आवास भवनहरु समेत उपलब्ध रहेको र एउटै क्षेत्रबाट सरकारी सेवा समेत प्रदान गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । भवन डिभिजन कार्यालय काभ्रेले तयार गरेको प्रतिवेदनमा आईटी पार्कको मुख्य भवनको पहिलो तल्लामा मुख्य मन्त्रीको कार्यालय राख्न सकिने उल्लेख गरिएको छ । ८ वटा कोठा रहेको उक्त तल्लामा १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।
आईटी पार्कको मुख्य भवनको दोश्रो तल्लामा प्रदेश मन्त्रालय २ वटा राख्न सकिने छ । तेश्रो तल्लामा प्रदेश मन्त्रालयका २ वटा, चौथो तल्लामा मन्त्रालयका २ वटा कार्यालय राख्न सकिनेछ । सबै तल्लामा ८÷८ वटा कोठा उपलब्ध छन् । आईटी पार्कको प्रशासकिय भवनको पहिलो तल्लामा प्रदेश प्रमुखको कार्यालय रहनेछ । जसमा ४ वटा कोठा रहेका छन् । आईटी पार्क प्रशासकिय भवनको दोश्रो तल्लामा प्रदेश मुख्य सचिवको कार्यालयका लागि उपयुक्त छ । जसमा पाँचवटा कोठा उपलब्ध छन् ।
आईटी पार्क भित्रै प्रदेश सभा भवनको सचिवालय र प्रदेश सभा हल प्रिफ्याबको भवन निर्माण गर्न सिफारिस गरिएको छ । प्रदेश मन्त्रालयका चार वटा भवन, प्रदेश प्रमुख, मुख्य मन्त्री, मुख्य सचिव, सभामुख, उप सभामुख लगायतका अन्य सात मन्त्रीको निवासका लागि आईटी पार्क भित्रै निर्माण गर्न सकिने प्रतिवेदन तयार गरिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया