काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकपमा आयरल्याण्डले ओमानविरुद्ध आक्रामक ब्याटिङ गर्दै २३५ रनको विशाल योगफल खडा गरेको छ।
श्रीलंकाको कोलम्बो मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनाएकाे हाे । यो जारी विश्वकपको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि श्रीलंकाले ओमानविरुद्ध नै बनाएको २२६ रनको योगफल सबैभन्दा उच्च थियो ।
आयरल्याण्डका लागि कप्तान लोर्कान टकरले उत्कृष्ट इनिङ्स खेले। उनले मात्र ५१ बलमा १० चौका र ४ छक्काको मद्दतले नटआउट ९४ रन बनाए। उनी मात्र ६ रनले आफ्नो शतक बनाउन चुके पनि टोलीलाई विशाल स्कोरसम्म पुर्याउन मुख्य भूमिका खेले।
मध्यक्रमका ब्याट्सम्यान गेरेथ डेलानीले ३० बलमा ५६ रनको अर्धशतकीय योगदान दिए। इनिङ्सको अन्त्यतिर जर्ज डकरेलले विष्फोटक ब्याटिङ गर्दै मात्र ९ बलमा ५ छक्का प्रहार गरी ३५ रन जोडे।
ओमानका लागि शकिल अहमद सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। आमिर कलीम र शाह फैसलले १–१ विकेट लिए पनि अन्य बलरहरू निकै महँगो सावित भए। जितेन रामनन्दीले २ ओभरमा ३९ रन र सुफ्यान महमुदले २ ओभरमा ३५ रन खर्चेका थिए।





























प्रतिक्रिया