ढोरपाटन। सालझण्डी–ढोरपाटन सडक लामो समयदेखि स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। सडकको कमजोर अवस्थाका कारण यातायात र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।
सडकसँगै वन्यजन्तुको समस्या पनि यहाँका स्थानीयका लागि ठूलो चुनौती बनेको छ। बाँदर, बँदेल र चितुवालगायतका वन्यजन्तुले गाउँमा पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई आक्रमण गर्ने गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार घरदैलो अभियानमा पुगेका बेला बागलुङ–२ का मतदाताले सडक स्तरोन्नति र वन्यजन्तु नियन्त्रणलाई मुख्य मागका रूपमा राखेका छन्।
ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङदेखि ढोरपाटन उपत्यका जोड्ने सडक निर्माण भएको एक दशक बितिसक्दा पनि स्तरोन्नति नभएको बताए। सडकले सुविधा दिने अपेक्षा गरिए पनि उल्टै समस्या बढेको उनको भनाइ छ। चुनावका बेला सडक बनाउने प्रतिबद्धता गर्ने नेताहरू जितेपछि फर्केर नआएको उनले बताए।
स्थानीय तुलबहादुर घर्ती मगरले जंगलबाट आउने बाँदर, बँदेल र चितुवाका कारण दैनिक जीवन प्रभावित भएको बताए। बालीनाली नष्ट हुने र गाउँमा असुरक्षा बढेको भन्दै समस्या समाधान गर्ने उम्मेदवारलाई समर्थन गर्ने स्थानीयबीच छलफल भएको उनले बताए।
निसीखोला गाउँपालिका–५ कुँडेका गङ्गाबहादुर विकले सडकको अवस्था कमजोर हुँदा यात्रा र सामान ढुवानीमा कठिनाइ भएको बताए। साँघुरो र अप्ठ्यारो सडकका कारण ढुवानी खर्च बढेको उनको भनाइ छ। सडक स्तरोन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई यसपालि समर्थन गर्ने स्थानीयको तयारी रहेको छ।





























प्रतिक्रिया