चुनावी नारा मात्रै बन्यो खड्कबार–घुइँयाबारी सडक, निर्माण अझै अनिश्चित

चुनावी नारा मात्रै बन्यो खड्कबार–घुइँयाबारी सडक, निर्माण अझै अनिश्चित

केन्द्रबिन्दु
57
Shares

राँझा। बाँकेको कोहलपुर नगरपालिका चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेशीय पर्यटकीय मार्ग वर्षौंदेखि चुनावी एजेण्डामै सीमित भएको छ। प्रत्येक निर्वाचनमा राजनीतिक दलले यो सडक निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म निर्माण अघि बढ्न सकेको छैन।

विसं २०१५ देखि नै राजनीतिक नारा बनिरहेको यो सडक यसपटक पनि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुख्य एजेण्डामा परेको छ। उम्मेदवारहरूले सडक निर्माणलाई आर्थिक विकास र क्षेत्रीय जोडको आधारका रूपमा प्रस्तुत गरेका छन्।

नेकपा (एमाले) का बाँके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालले खड्कबार–घुइँयाबारी सडक निर्माणले बाँके र सल्यानबीचको दूरी घटाउने र आर्थिक गतिविधि विस्तार गर्ने बताए। उनका अनुसार यो सडक सञ्चालनमा आए तराई र पहाडबीच उत्पादन आदानप्रदान सहज हुने र कम खर्चमा यात्रा सम्भव हुनेछ।

नेपाली कांग्रेसका उम्मेदवार नारायण गौडेलले पनि सडक निर्माणलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताएका छन्। उनले विगतमा यस सडकका लागि बजेट विनियोजनको माग गर्दै पदयात्रासमेत गरिएको उल्लेख गर्दै सडक निर्माणको पहल जारी राख्ने बताए। खड्कबार हुँदै सल्यानको घुइँयाबारी पुग्न २० किलोमिटरभन्दा कम दूरी रहेको र यसलाई नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले परिकल्पना गरेको उनको दाबी छ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले पनि सडक निर्माणलाई चुनावी एजेण्डामा राखेका छन्।

स्थानीयका अनुसार चुरे, भावर र समथर भू–भाग हुँदै मठमन्दिर तथा बाँके राष्ट्रिय निकुञ्जसमेत पर्ने भएकाले यो मार्ग पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। कोहलपुर नगरपालिका–१३ का स्थानीय लालबहादुर रानाले लामो समयदेखि सडक निर्माणको चर्चा भए पनि काम अघि नबढेको बताए।

उनका अनुसार यो सडक निर्माण भए कोहलपुरका दुर्गम गाउँ, विशेषगरी खड्कबार क्षेत्र सडक सञ्जालमा जोडिनेछ भने पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Logo