काभ्रेपलाञ्चोक। तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमेका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका छन्।
कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भने,“स्थानीय बजारमा प्रतिकिलो रु चार सयदेखि आठ सयसम्ममा भुइँऐसेलु बिक्री भइरहेको छ ।”
जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बनाएका ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थालेका भने होइनन्, अरुले रोपेको देखेर र भनेका आधारमा खेती थालेको सुनाए।
गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गर्नुभएका उहाँ यसवर्ष केही बढी आम्दानी हुनेमा आश्वस्त छन्। उनले भुइँऐसेलु मात्र होइन मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहेका छन्। भुइँऐसेलुका बिरुवा पनि उनले बेच्दै आएका छन् । उनले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन् ।
हाल उनको फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । व्यवसाय विस्तारको सोचमा रहेका उनले भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्न विज्ञहरुसँग परामर्श गरिरहेका छन् ।





























प्रतिक्रिया