स्कटल्याण्डद्वारा इङ्गल्याण्डलाई १५३ रनको लक्ष्य

स्कटल्याण्डद्वारा इङ्गल्याण्डलाई १५३ रनको लक्ष्य

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को रोमाञ्चक भिडन्तमा स्कटल्याण्डले इङ्गल्याण्डलाई जितका लागि १५३ रनको मध्यम लक्ष्य दिएको छ। कोलकाताको ऐतिहासिक इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएकाे हाे ।

स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्गटनले सर्वाधिक ४९ रनको योगदान दिए। उनले मात्र ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरे पनि अर्धशतक बनाउनबाट मात्र १ रनले चुके। ओपनर माइकल जोन्सले ३३ रनको योगदान दिँदै राम्रो सुरुवात दिलाएका थिए।

एक समय ११३/३ को बलियो अवस्थामा रहेको स्कटल्याण्डले अन्तिम ५ ओभरमा लगातार विकेट गुमाएपछि १५२ रनमा समेटिन पुग्यो। तल्लो क्रममा ओलिभर डेभिडसनले अविजित २० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए।

इङ्गल्याण्डका बलरहरूले मध्य र अन्तिम ओभरमा उत्कृष्ट पुनरागमन गरे । स्पिनर आदिल राशिदले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिँदै स्कटल्याण्डको मध्यक्रम ध्वस्त पारे। यस्तै, तीव्र गतिका बलर जोफ्रा आर्चर र स्पिनर लियाम डसनले समान २-२ विकेट लिए। जेमी ओभरटन र साम करनले १-१ विकेट हात पारे।

यसअघि इङ्गल्याण्डले नेपाललाई झिनो अन्तरले पराजित गरे पनि वेस्ट इन्डिजसँग हार बेहोरेको थियो । अर्कोतर्फ, स्कटल्याण्डले इटालीलाई हराएर बलियो मनोबलका साथ मैदान उत्रिएको छ।

Logo