बाग्लुङ। म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।
गत माघ २५ देखि फागुन १ गतेसम्म आयोजना गरिएको ५७औँ स्थापना दिवसका क्रममा प्राप्त रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको हो । पशुविज्ञान विषयमा कक्षा ११–१२ तहको पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थापना गरिएको अक्षयकोषमा हालसम्म रु एक करोड दुई लाख सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले जानकारी दिए ।
अक्षयकोषमा दाताहरूले आफ्ना दिवंगत अभिभावक तथा पूर्वविद्यार्थीको स्मृतिमा सहयोग गरेका छन् । विदेशमा रहेका ताराखोलावासी र विभिन्न सङ्घसंस्था तथा व्यवसायीले पनि व्यक्तिगत रूपमा योगदान गरेका छन् ।
विद्यालयको आन्तरिक स्रोतबाट रु ६५ लाखबाट सुरु गरिएको अक्षयकोषमा गत वर्ष ५६औँ वार्षिकोत्सवका अवसरमा रु १५ लाख थप भएको थियो । अक्षयकोषलाई रु दुई करोड पु¥याएर त्यसबाट प्राप्त ब्याज शैक्षिक गतिविधिमा परिचालन गर्ने योजना रहेको जनाइएको छ ।
अक्षयकोषमा गलकोट समाज जापानले रु पाँच लाख, जितबहादुर खत्रीले रु तीन लाख, टीकाराम कँडेलले रु दुई लाख, गैरआवासीय नेपाली सङ्घ जापानले रु एक लाख ५० हजार, यमबहादुर खत्रीले रु एक लाख, भीमबहादुर पाण्डेको परिवारले रु एक लाख, कर्णबहादुर केसीले रु दुई लाख ११ हजार १११, हुमाकुमारी कँडेलले रु दुई लाख, रती घर्तीले रु ६५ हजार, पोकबहादुर घर्तीले रु ५० हजार र चित्रप्रसाद गौचनले रु एक लाख सहयोग गरेका छन् ।
राम चालिसे र प्रकाश थापाले जनही रु तीन लाख ५० हजार, लाखिम गैरेले रु ५० हजार र भक्त चोखालले रु ५० हजार सहयोग गरेका छन् । स्वर्गीय हरिबहादुर चोखालको स्मृतिमा पोकबहादुर चोखालले रु चार लाख ५५ हजार सहयोगमा विद्यालय भवनमा एक कोठा निर्माण गरिएको छ ।
चार सय ११ विद्यार्थी अध्ययनरत विद्यालयमा साधारण धारतर्फ सिकाइ उपलब्धि ५५.९५ प्रतिशत र प्राविधिक धारतर्फ ६५.१५ प्रतिशत रहेको विद्यालयले जनाएको छ । सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रमअन्तर्गत ३४ कोठा क्षमताका पाँचवटा भवन निर्माण सम्पन्न भएका छन् भने एक भवन निर्माणाधीन छ । साथै छात्रावास, शौचालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला र पशुविज्ञान प्रयोगशाला सञ्चालनमा छन् ।
विद्यालयमा कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको छ । सूचना प्रविधियुक्त मल्टिमिडिया तथा कम्प्युटर कक्ष पनि सञ्चालनमा रहेको छ ।
ताराखोला गाउँपालिकाले विद्यालयलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गर्ने, स्कुल बस सेवा थप गर्ने र क्याम्पस स्थापना गर्ने योजना अघि सारेको जनाएको छ ।





























प्रतिक्रिया