भोजपुर। भोजपुर नगरपालिका–४ दावाँस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल तथा अन्य इन्डोर्स खेलका लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ ।
करिब १२ वर्षअघि निर्माण सुरु भएको उक्त कम्प्लेक्स करिब रु दुई करोडको लागतमा निर्माण गरिएको हो । कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घले जनाएको छ ।
नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठका अनुसार संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै भलिबल खेलको विकासमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । विस्तृत परियोजना प्रतिवेदनअनुसार बजेट समयमै उपलब्ध नहुँदा केही संरचनाको निर्माणमा ढिलाइ भएको पनि उनले बताए ।
सङ्घले कम्प्लेक्समा आवासीय भलिबल प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । प्रशिक्षणका लागि एक प्रशिक्षकको व्यवस्था गरिने र स्थानीय तथा प्रदेशस्तरका खेलाडीलाई प्रशिक्षण दिइने योजना रहेको छ । यसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्प्लेक्स निर्माणका लागि खेल क्षेत्रको विकासमा सहयोगस्वरूप स्वर्गीय माधवप्रसाद श्रेष्ठले १० रोपनी जग्गा उपलब्ध गराएका थिए । नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कम्प्लेक्सको स्थलगत अनुगमन गर्दै केन्द्र सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक जगदीशप्रसाद भट्टले संरचना पूर्ण रूपमा सञ्चालनमा आएपछि भलिबलसहित अन्य इन्डोर्स खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।
प्रशिक्षण केन्द्र सञ्चालनमा आएपछि जिल्लामा खेल गतिविधि बढ्ने, युवालाई खेलतर्फ आकर्षित गर्ने र भलिबल खेलको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया