उपकरण प्रयोग गरेर जुट तयारी गर्न थालियो

उपकरण प्रयोग गरेर जुट तयारी गर्न थालियो

केन्द्रबिन्दु
6
Shares

सुनसरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ ।

जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो । जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए।

अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुटखेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ ।

कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०\८१ मा सात हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा दस हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ । पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुटखेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुटखेती हुने गर्छ ।

अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चापदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ । देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले छ बन्द छन् ।

Logo