काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न रोमाञ्चक खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेको छ । नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको यस खेलमा जित निकाल्दै अफगानिस्तानले प्रतियोगितामा आफ्नो पहिलो अंक जोडेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो। युएईका लागि सोहैब खानले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ६८ रनको इनिङ खेले। त्यस्तै अलि सान शराफूले ४० रनको योगदान दिए पनि अन्य ब्याटरहरूले खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
अफगानिस्तानका लागि तीव्र गतिका बलर अजमतुल्लाह ओमरजाई घातक साबित भए। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। कप्तान राशिद खान र मुजिब उर रहमानले पनि कसिलो बलिङ गर्दै युएईलाई ठूलो स्कोर बनाउनबाट रोके।
जवाफमा १६१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अफगानिस्तानको जितमा प्रारम्भिक ब्याटर इब्राहिम जाद्रानले ५३ रनको अर्धशतकीय इनिङ खेले।
खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले विष्फोटक ब्याटिङ गर्दै मात्र २१ बलमा अविजित ४० रन जोडेपछि अफगानिस्तानले ४ बल बाँकी छँदै जित सुनिश्चित गर्यो।
युएईका लागि जुनैद सिद्दीकी र मोहम्मद अर्फानले समान २-२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यस जितसँगै अफगानिस्तानले सुपर-८ को दौडमा आफूलाई जीवितै राखेको छ।





























प्रतिक्रिया