काठमाडाैं । आइसिसी पुरुष टि-२० विश्वकप २०२६ को समूह ‘डी’ अन्तर्गतकाे खेलमा दक्षिण अफ्रिकाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका आफ्नो समूहका सबै चार खेल जित्दै अपराजित रूपमा सुपर ८ चरणमा प्रवेश गरेको छ।
दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रनको सामान्य योगफल तयार पारेको थियो। युएईका लागि अलिशान शराफुले सर्वाधिक ४५ रनको योगदान दिए तापनि अन्य ब्याटर चल्न सकेनन्। दक्षिण अफ्रिकाका तीब्र गतिका बलर कोर्बिन बोशले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर ३ विकेट लिए। एनरिच नोर्कियाले २ तथा जर्ज लिन्डेले १ विकेट हात पारे।
१२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले विस्फोटक सुरुवात गर्यो। वर्षाले केही समय खेल अवरुद्ध गरे तापनि दक्षिण अफ्रिकी ब्याटरहरूले आक्रामक लय कायम राखे। कप्तान एडन मार्क्रमले मात्र ११ बलमा २८ रन जोडे भने डेवाल्ड ब्रेभिसले ३६ र रायन रिकेल्टनले ३० रनको योगदान दिए। दक्षिण अफ्रिकाले मात्र १३.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
युएईका बलरहरू हैदर अली, मुहम्मद जवादुल्लाह, मुहम्मद अर्फान र मुहम्मद फारुकले १-१ विकेट लिए पनि टोलीको हार टार्न पर्याप्त भएन।
यस जितसँगै दक्षिण अफ्रिका ८ अंकका साथ समूहको शीर्ष स्थानमा यथावत छ। युएई भने यस हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। यस समूहबाट दक्षिण अफ्रिकासँगै न्युजिल्यान्ड पनि अर्को चरणमा प्रवेश गरिसकेका छन्।





























प्रतिक्रिया