काठमाडौं
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोके लगत्तै वाम गठबन्धन भित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपतिका उम्मेदवारका विषयमा ‘वन टु वन’ छलफल गरिरहेका छन् ।
दुई नेता बीच सीमित छलफलका प्रगति अहिले सम्म बाहिर आउन नसके पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन देखि आकांक्षी अन्य नेताहरूले विभिन्न तरिकाले आफ्नो उम्मेदवारी र औचित्य प्रकट गर्न थालेका छन् । वाम गठबन्धनबाटै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचित हुने बढी सम्भावना देखिएकाले कांग्रेस र मधेस केन्द्रित दल भित्र भने अहिले सम्म आकांक्षी देखिएका छैनन् । आयोगले २१ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ । भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । भण्डारीले ओली र प्रचण्डसँगको पटक–पटकको भेट र ‘डिनर मिटिङ’ मार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना प्रकट गरेकी छिन् ।
उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् । उनले गठबन्धनको निर्णय अनुसार आफू जिम्मेवारी लिन तयार रहेको बताइसकेका छन् । माओवादी नेता शेरचनले पनि आफूलाई अघिल्लो पटक नै ‘अफर’ आएको र पार्टी अध्यक्ष प्रचण्डको आग्रह अनुसार जिम्मेवारी लिने मनस्थिति बनाएर बसेको प्रस्ट पारेका छन् । उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन बाहेक अन्य नेताले अहिले सम्म आकांक्षा राखेका छैनन् । माघको पहिलो साता एमाले अध्यक्ष ओली थाइल्यान्डको बैंककबाट फर्किए लगत्तै उनको निवास बालकोट पुगेर पुनले कूटनीतिक भाषामा दोहोरिने चाहना प्रकट गरेका थिए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया